पार्टी एकताका लागि अन्तिमसम्म प्रयत्न जारी राख्ने ओली पक्षको निर्णय
अखबार टुडे
प्रकाशित:
२०७८, १८ जेष्ठ

काठमाडौं, १८ जेष्ठ । नेकपा एमालेको स्थायी कमिटीको बैठकले एमाले पार्टीको एकताका लागि अन्तिमसम्म प्रयत्न जारी राख्ने निर्णय गरेको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु मात्र बसेकोे स्थायी कमिटीको बैठकले एकताका निम्ति अन्तिमसम्म प्रयत्न जारी राख्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
प्रवक्ता ज्ञवालीका अनुसार जेठ २ मा बनेको कार्यदलका केही सदस्य कारबाहीमा परेकाले त्यो गठित कार्यदल पुनर्गठन नभएसम्म अन्य संयन्त्रबाट एकताको पहल भइरहेको बताए । अहिले वार्ता टोली क्रियाशील नरहेको उनले भनाई छ ।
प्रवक्ता ज्ञवालीले एमालेका उम्मेदवारलाई हराउन भूमिका खेलेर गर्व गर्ने प्रवृति माधव नेपाल पक्षमा देखिए पनि आफूहरु पार्टी विभाजन हुन नदिन हदैसम्मको लचिलो बनेको बताए । यद्यपि अहिले पनि आफूहरुको प्रयास पार्टी एकता जोगाउने र धेरैभन्दा धेरै साथीहरु मुलधारमा राख्ने भएको उनले बताए ।
सोमबार साँझ मात्र अध्यक्ष ओली र नेता माधवकुमार नेपाल पक्षका नेताहरुबीच छलफल भएको थियो । तर औपचारिक वार्ता सुरु हुन सकेको छैन ।

प्रतिक्रिया