उपत्यकाको जारी निषेधाज्ञा खुकुलो बनाइँदै
अखबार टुडे
प्रकाशित:
२०७८, १८ जेष्ठ

काठमाडौं, १८ जेठ । कोरोनाभाइरस संक्रमण दर घट्दै गएपछि सरकारले जारी निषेधाज्ञालाई केही खुकुलो बनाउने तयारी गरेको छ । आज (मंगलबार) काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।

अघिल्लोपटक कोरोना महामारी नियन्त्रणको लागि एक साता कडा निषेधाज्ञा जारी गरेका सीडीओहरुले निषेधाज्ञा केही खुकुलो बनाउने निर्णयको तयारी गरेका हुन् ।

आज बस्ने बैठकमा पछिल्लोपटक लगाइएको निषेधाज्ञाको समीक्षा गर्दै निषेधाज्ञा अहिलेकोभन्दा केही खुकुलो र व्यवस्थित गर्नेबारे छलफल हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरुसँग पनि परामर्श गरेर कोरोनाको ग्राफ विश्लेषण गरी थप निर्णय लिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । ‘आज बस्ने बैठकमा कोरोनाको हालको अवस्थाका बारेमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरुसँग पनि परामर्श गरेर आवश्यक निर्णय लिन्छौं’ उनले भने ।

पछिल्लो पटक खाद्य पसलहरुमा समेत लगाइएको प्रतिबन्धले भिड धेरै हदसम्म नियन्त्रणमा आएको निष्कर्षमा अधिकारीहरु पुगेका हुन् । अब खाद्य सामग्री बिक्रीमा केही खुकुलो र व्यवस्थित बनाउनेबारे तयारी रहेको छ ।

प्रतिक्रिया