लुम्बिनी राष्ट्रियसभा उपनिर्वाचनमा विपक्षी गठबन्धनका पाण्डेय निर्वाचित
अखबार टुडे
प्रकाशित:
२०७८, १७ जेष्ठ

बुटवल, १७ जेष्ठ । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा सत्तारुढ एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै विपक्षी गठबन्धनका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन् ।
विजयी पाण्डेय हालै मात्र प्रदेश सभा सदस्यबाट राजीनामा दिएर नेपाली कांग्रेस प्रवेश गरेका थिए ।
कांग्रेस उम्मेदवार पाण्डेयले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले हराएका हुन् । पाण्डेयले ४१४० मत ल्याए भने खड्काले ३५९४ मत पाए ।
उनलाई नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जसपाको बाबुराम–उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन थियो ।
पाण्डेयले प्रदेशसभातर्फ ४२ र स्थानीय तह तर्फ ११८ जनाको मत पाएका छन् । खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत पाएका छन् ।
प्रदेशसभा तर्फ १ मत र स्थानीय तहतर्फ २ मत बदर भएको छ । निर्वाचन आयोगले औपचारिक घोषणा केहीबेरमा गर्दैछ ।

प्रतिक्रिया