व्यावसायिक उच्च शिक्षा प्राप्त गर्नेमध्ये ९० प्रतिशतले रोजगारी पाए : प्रतिवेदन
अखबार टुडे
प्रकाशित:
२०७८, १६ जेष्ठ

बेइजिङ, १६ जेठ (एजेन्सी) । विगत पाँच वर्षको तथ्याँक विश्लेषण गर्दा चीनका व्यावसायिक उच्च शिक्षा विषय अध्ययन गर्नेमध्ये करिब ९० प्रतिशतले रोजगारी पाएको देखिएको छ ।
आइतबार सार्वजनिक प्रतिवेदनमा स्नातक अध्ययन पूरा गरेको छ महिनाभित्रै उनीहरुले रोजगारी पाइसकेको उल्लेख छ ।
नेसनल इन्स्टिच्यूट अफ एजुकेसन साइन्सले तयार पारेको प्रतिवेदनमा व्यावसायिक (भोकेसनल) विषयका स्नातकहरुले रोजगारी पाउने अवस्था पाँच वर्षदेखि स्थिर रहेको उल्लेख छ ।
स्नातक उपाधि प्राप्त गरेका त्यस्ता व्यक्तिको सन् २०१८ र २०१९ मा आफ्नो तलबमानमा ७.३७ प्रतिशतले वृद्धि भएको देखिएको छ ।
स्नातक गरेका ९३ प्रतिशतभन्दा बढीले आफूहरुले प्राप्त गरेको शिक्षाबाट सन्तुष्ट रहेको बताएका छन्, प्रतिवेदनमा समेटिएका विद्यार्थीको भनाई छ ।
प्रतिवेदनका अनुसार, अधिकांश स्नातकले निजी क्षेत्र र व्यक्तिगत व्यवसायमा काम पाएका छन् । उनीहरुले खासगरी शिक्षा, निर्माण, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा काम पाएका छन् ।
प्रतिवेदनमा व्यावसायिक शिक्षाले क्षेत्रीय विकासमा पनि टेवा पु–याएको उल्लेख छ । स्नातक विद्यार्थीमध्ये अधिकांशले आफू बसोबास गरेकै क्षेत्रमा काम गर्न रुचाएको देखिएको छ ।
करिब ६६ प्रतिशतले साना तथा मध्यम आकारका उद्यममा काम पाएका छन् । यसबाट स्थानीय अर्थतन्त्रको विकासका लागि आवश्यक प्रतिभाहहरु उपलब्ध गराउन ठूलो मद्दत पुगेको पनि प्रतिवेदनमा जनाइएको छ ।
प्रतिवेदनले शैक्षिक प्रणाली, विद्यालय सञ्चालन, शिक्षण र विद्यार्थी विकास समेतका विभिन्न विषयलाई मुख्य रुपमा केन्द्रित गरेको थियो ।

प्रतिक्रिया