काठमाडौं, १६ जेष्ठ । इराकसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा गल्ति गर्न पुग्दा नेपाल ६–२ गोल अन्तरले पराजित भएको छ ।
इराकको बास्रामा नेपालले सुरुवातमा राम्रो प्रदर्शन गरे पनि त्यसलाई टिकाइराख्न सकेन । इराकले खेलको सातौं मिनेटमा नै अग्रता बनाएको थियो ।
इराकका आला अब्दुलले गरेको फ्रिकिक सोझै गोलमा परिणत भएको थियो । तर नेपालले खेलको आठौं मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्याएको थियो ।
नेपालका लागि अञ्जन विष्टले प्रहार गरेको बल क्लियर गर्ने क्रममा इराकका अहमद इब्राहिम खलाफले आत्मघाती गोल गरेका थिए ।
२९औं मिनेटमा मनिस डाँगीले गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाए । मनिसले यही खेलमार्फत राष्ट्रिय टिममा डेब्यु गरेका हुन् र उनले डेब्यु खेलमै गोल गरेका हुन् ।
३९औं मिनेटमा मोहम्मद अब्दुलजाहराले इराकका लागि बराबरी गोल फर्काए । लगत्तै अर्को मिनेटमा अयेन हुसेनले गोल गर्दै इराकलाई ३–१ को अग्रता दिलाए । पहिलो हाफको इन्जुरी टाइममा अयमन हुसेनले व्यक्तिगत दोस्रो गोल गर्दै इराकलाई ४–२ को अग्रता दिलाए ।
६७ औं मिनेटमा मोहम्मेद रिदा एल एलायमीले गोल गर्दै इराकलाई ५–२ को अग्रता दिलाए । ७५औं मिनेटमा सजाद जसमी अलसाराफीले गोल गर्दै इराकलाई ६–२ को अग्रता दिलाए ।
खेलमा नेपालका गोलकिपर कप्तान किरण चेम्जोङले केही राम्रा बचाउ समेत गरेका थिए । नेपाली टोली अब विश्वकप छनोटका बाँकी ३ खेल खेल्न कुवेत जानेछ ।