प्रभावकारी हुन सकेन अनलाइन शिक्षा
अखबार टुडे
प्रकाशित:
२०७८, १५ जेष्ठ

काठमाडौं, १५ जेष्ठ । कोरोना महामारीबाट बच्न जारी निषेधाज्ञाका बेला सरकारी विद्यालयमा यन्त्र र संस्थागत विद्यालयमा स्रोतको अभावमा प्रभावकारी शिक्षण सिकाइ हुन नसकेको सरोकारवालाहरुको भनाइ छ ।
सुशील कोइराला मेमोरियल फाउन्डेसनले आज जुम प्रविधिबाट आयोजना गरेको ‘महामारीमा शिक्षा, चुनौती र सामना गर्ने रणनीति’ विषयक अन्तरक्रियामा प्याब्सनका सहअध्यक्ष डिके ढुङ्गानाले सरकारी विद्यालयलाई अनलाइनबाट पढाउन प्रविधि र यन्त्रको व्यवस्था गरिनुपर्ने बताए । संस्थागत विद्यालयलाई स्रोतको व्यवस्थाका लागि सरकारको पहल आवश्यक रहेको उनको भनाइ थियो ।
अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले अहिलेको शिक्षाले चिल्लो प्रमाणपत्र दिने तर संस्कार नदिने भएकाले संस्कार बसाउन शिक्षा नीतिमै व्यवस्था गर्न माग गरे । शिक्षामा संस्कार नहुनुमा सरकारी नीति र समाजको पनि दोष रहेको उनको भनाइ थियो ।
सरकारी विद्यालयमा दिवा खाजा र स्यानिटरी प्याडमा छुट्याएको बजेट खर्च नभएकाले त्यसलाई अनलाइन शिक्षा दिन डिभाइसमा खर्च गर्नुपर्ने महासङ्घका अध्यक्ष भण्डारीको माग थियो ।

प्रतिक्रिया