सुदूरपश्चिम प्रदेश सरकारमा साहभागी ६ मन्त्रीलाई एमालेको स्पष्टीकरण
अखबार टुडे
प्रकाशित:
२०७८, १५ जेष्ठ

कैलाली, १५ जेष्ठ । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले सुदूरपश्चिम प्रदेश सरकारमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई स्पष्टीकरण सोधेको छ ।
एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीलाई २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।
यस्तै, राज्यमन्त्रीमा नियुक्त चुनकुमारी चौधरी, अर्चना गहतराज र मना साउदलाई पनि स्पष्टीकरण सोधिएको छ । प्रदेश संसदीय दलको सचेतकमा नियुक्त दुर्गा कामीलाई पनि स्पष्टीकरण सोधिएको छ ।
उनीहरूलाई स्थायी कमिटीको बैठकको निर्णयविरुद्ध प्रदेश सरकारमा मन्त्री भएको आरोप लगाइएको छ । सोमबार बसेको एमाले स्थायी कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएको थियो ।
तर बुधबार प्रदेश संसदीय दलले भने वर्तमान सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय गर्दै शुक्रबार एमालेका माधव पक्षले मन्त्री थप गरेको थियो । ओली पक्ष भने सरकार विस्तारको विरोधमा छ ।

प्रतिक्रिया