छानबिन आयोग गठन गर्ने प्रस्ताव माथिल्लो सदनद्धारा अस्वीकृत
अखबार टुडे
प्रकाशित:
२०७८, १५ जेष्ठ

वासिङ्टन डी.सी., १५ जेष्ठ । अमेरिकाको संसद भवनमा गएको जनवरी ६ मा भएको हिंसात्मक आक्रमणको अनुसन्धानका लागि आयोग गठन गर्ने सम्बन्धी प्रस्ताव तल्लो सदनले पारित गरे पनि माथिल्लो सदनद्धारा प्रस्ताव अस्वीकृत भएको छ ।

६० सिनेटरको समर्थन चाहिने प्रस्तावको पक्षमा ६ रिपब्लिकनसहित ५४ सिनेटरको मात्रै समर्थन प्राप्त भएको बीबीसीले जनाएको छ ।

राष्ट्रपति चुनावको नतिजालाई आधिकारिकता प्रदान गर्न संसदको संयुक्त सत्र चलिरहेका बेला तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले हिंसात्मक आक्रमण गरेका थिए । आक्रमणमा एक प्रहरी अधिकारीसहित कम्तीमा पाँच जनाको ज्यान गएको थियो ।

संसद भवनमा भएको आक्रमणको अनुसन्धानका लागि आयोग गठन गर्ने प्रस्ताव विधेयकमा थियो । दुवै पार्टीका बराबर सदस्य रहने १० सदस्यीय आयोगले भविष्यमा हुनसक्ने आक्रमण रोक्नका लागि गर्नु पर्ने कामहरुबारे सुझाव दिने व्यवस्थाको प्रस्ताव गरिएको थियो ।

आयोग बन्न रोकेको भन्दै राष्ट्रपति जो बाइडेनले रिपब्लिकनको आलोचना गरेको छ । पूर्व राष्ट्रपति ट्रम्प भने आयोगले दोषी करार गर्ने सम्भावित खतराबाट बचेको छ ।

प्रतिक्रिया