वामदेवको दावी : ‘राजतन्त्रको अन्त्य गर्न प्रस्ताव राख्ने मै हुँ’
अखबार टुडे
प्रकाशित:
२०७८, १५ जेष्ठ

काठमाडौं, १५ जेठ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमालेको केन्द्रीय कमिटीमा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाको लिखित प्रस्ताव राख्ने व्यक्ति नै आफू भएको दावी गरेका छन् ।

१४औँ गणतन्त्र दिवसका अवसरमा विज्ञप्ति जारी गर्दै नेता गौतमले आफूलाई गणतन्त्रको प्रस्तावक दावी गर्दै एमालेभित्रका गणतन्त्र विरोधी नेताहरुको स्मरण गरेका छन् ।

उनले भनेका छन्, ‘विडम्बना नै भन्नुपर्छ नेकपा एमालेको केन्द्रीय कमिटीको बहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा मुख्य ३ नेता विरुद्धमा हुनुहुन्थ्यो । त्यो बैठकमा अब संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति म थिएँ ।’

गणतन्त्र स्थापनामा गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल र प्रचण्डले भूमिका खेलेको भन्दै नेता गौतमले तीनै नेतालाई महानायकका रुपमा स्मरण गरेका छन् ।

नेता गौतमले भनेका छन्, ‘२०६५ जेठ १५ गतेको अवस्थामा नेपाल ल्याई पुर्याउने युगान्तकारी संघर्षका महानायकहरु भने नेपाली कांग्रेस पार्टीका सभापति गिरिजाप्रसाद कोइराला, नेकपा एमालेका महासचिव माधवकुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्थ्यो । उहाँहरुमध्ये गिरिजाप्रसाद कोइराला हामीबीच हुनुहुन्न । अरु, दुईजना भने नेपाली राजनीतिमा सक्रिय नै हुनुहुन्छ ।’

प्रतिक्रिया