अर्थतन्त्र

बजेटमा आशंका : मतदातालाई प्रभाव पार्ने कार्यक्रम नराख्न ध्यानाकर्षण

काठमाडौं, १३ जेठ । सरकारले यस वर्ष नीति तथा कार्यक्रम नल्याउने भएको छ । तर, आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट भने अध्यादेशमार्फत सार्वजनिक गर्दैछ ।

प्रतिनिधिसभा विघटन भएकाले नीति तथा कार्यक्रम नल्याउने भएको हो । आगामी आर्थिक वर्षको बजेट भने अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले जेठ १५ गते शनिबार ४ बजे सार्वजनिक गर्दैछन् ।

अर्थविदहरुले काम चलाउ सरकारले बजेट ल्याउन नमिल्ने बताइरहेका बेला सरकारले आगामी वर्षको बजेट सार्वजनिक गर्न लागेको हो । प्रतिनिधिसभा विघटन गरेर चुनावको समेत घोषणा भइसकेको अवस्थामा काम चलाउ सरकारले अध्यादेशमार्फत ल्याउन लागेको बजेटले चुनावमा कसैलाई प्रभाव पार्न नहुने निर्वाचन आयोगका पाँचजना पूर्वप्रमुख आयुक्तहरुले बताएका छन् ।

आगामी कात्तिक र मंसिरमा प्रस्तावित प्रतिनिधिसभा निर्वाचनलाई प्रभावित पार्ने खालका कुनैपनि कार्यक्रम बजेटमा नल्याउन उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

पूर्वप्रमुख आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, अयोधीप्रसाद यादव पूर्वकार्यवाहक प्रमुख आयुक्त दोलखवहादुर गुरुङले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै मतदातालाई कुनै एक पक्षमा लाग्न प्रभाव पार्ने नहुने बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘काम चलाउ सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा स्वच्छ, स्वतन्त्र एवं निष्पक्ष निर्वाचनका लागि समान प्रतिस्पर्धाको सिद्धान्तभित्र रही मतदातालाई कुनै एक पक्षमा लाग्न प्रभाव पार्ने गरी लक्षित कुनै किसिमका नयाँ नीति कार्यक्रम वा बजेट विनियोजन नगर्न सरकारको ध्यानाकर्षण गर्दछौँ ।’

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top