कोरोना भाइरस उत्पतिबारे ९० दिनभित्र रिर्पोट बुझउन गुप्तचर निकायलाई बाइडेनको निर्देशन
अखबार टुडे
प्रकाशित:
२०७८, १३ जेष्ठ

वासिङ्टन, जेठ १३ । कोरोना भाइरस अरु जीवबाट मानिसमा सरेको वा प्रयोगशालाबाट बाहिरिएको विषयमा विवाद र आशङ्का बढिरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले ९० दिनभित्र कोरोना भाइरसको उत्पतिबारेमा रिपोर्ट बुझाउन गुप्तचर निकायलाई निर्देशन दिएको छ ।
द न्युयोर्क टाइम्सका अनुसार केही हप्ताअघि विभिन्न गुप्तचर संस्थाहरूले बुझाएका प्रतिवेदनमा भाइरसको उत्पत्तिबारे एकमत नभएपछि राष्ट्रपति बाइडेनले बुधबार फेरि अनुसन्धान गर्न निर्देशन दिएका हुन् ।
गएको महिना विश्वस्वास्थ्य सङ्गठनले चिनियाँसहित अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताको प्रतिवेदन सार्वजनिक गर्दै प्रयोगशालाबाट कोरोना भाइरस मानिसमा सरेको हुन सक्ने सम्भावना कम रहेको बताएको थियो । तर उक्त अनुुसन्धानलाई धेरैले शंका गरेका छन् ।
कोरोना भाइरस सन् २०१९ को अन्त्यतिर चीनको हुवेई प्रान्तको वुहानमा पहिलोपटक पुष्टि भएको थियो ।
वुहानको समुद्री खाद्यान्न बजारबाट मानिसमा कोरोना भाइरस सरेको चिनियाँ अधिकारीले बताउँदै आएका छन् । तर कतिपयले कोरोना भाइरस वुहानमा रहेको प्रयोगशालाबाट चुहावट भएर मानिसमा सरेको आशङ्का गर्दै आएका छन् ।

प्रतिक्रिया