काठमाडौं, १३ जेठ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरूमध्ये आज १९ वटामा सुनुवाइ सुरु हुँदैछ । संवैधानिक बेन्चमा सुनुवाइको माग गरिएका बाँकी ११ रिटको सुनुवाइ भने शुक्रबार हुनेछ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई बहुमत सांसदको समर्थन हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरी प्रतिनिधिसभा विघटन गरिएको भन्दै परेको रिटमाथि बिहीबारदेखि सुनुवाइ सुरु गर्ने भएको हो ।
सरकारको सिफारिसमा जेठ ७ गते मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्चमा रिट परेको हो ।
रिटमा प्रतिनिधिसभा पुनःस्थापना गरी नेपालको संविधानको धारा ७६ (५) बमोजिम देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गरिएको छ । बाँकी रिट निवेदकले चाहिँ प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भएकाले पुनःस्थापनाको माग गरेका छन् ।
यस्तै प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै निरन्तरता दिनुपर्नेमा पनि सर्वोच्चमा रिट परेका छन्। प्रतिनिधि सभा पुर्नस्थापना भए पनि ओलीलाई नै निरन्तरता दिनुपर्ने मागसहित ४ रिट परेका थिए ।