ओलीविरुद्ध एक जुट हुन नेपालसहित १५ नेताको संयुक्त अपील, गोकर्ण र योगेश माधव समूहमै
अखबार टुडे
प्रकाशित:
२०७८, १२ जेष्ठ

काठमाडौं, १२ जेठ । नेकपा एमालेले कारबाही गरेका पार्टीका झलनाथ खनाल, माधवकुमार नेपालसहित १५ जना स्थायी कमिटी सदस्यले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध निर्णायक संघर्षमा होमिन सामूहिक अपिल गरेका छन् ।

बुधबार अपिल प्रकाशित गर्दै प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष ओलीका निरंकुश र प्रतिगामी कामकारबाहीविरुद्ध एकता र सहकार्यका लागि सबै नागरिकमा आह्वान गरेका हुन् ।

अपीलमा भनिएको छ, ‘केपी ओलीका पार्टीभित्र र देशमा गरिएका स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्यहरुका विरुद्ध सम्पूर्ण वामपन्थी र लोकतन्त्रवादी शक्तिहरूको एकताबद्ध संघर्ष र सहकार्य अपरिहार्य भएको छ । यसका लागि हामीहरु तत्परताका साथ आवश्यक पाइला चाल्न अग्रसर छौँ । यस कार्यमा आ–आफ्नो ठाउँबाट एकता र दृढताका साथ केपी गुटका धाकधम्की, प्रलोभन र भ्रमलाई अस्वीकार गर्दै दृढताका साथ अघि बढ्न नेकपा (एमाले)का सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुमा हार्दिक आव्हान गर्दछौँ ।’

उक्त अपीलमा माधव पक्ष छाडेर केपी ओलीतिर लागेको आरोप लागेका नेता योगेश भट्टराई र गोकर्ण विष्ट समेत नाम रहेको छ । केही दिनअघि प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने नेपाल समूहको निर्णयमा भट्टराई र विष्टले सहमति जनाएका थिएनन् । तर, विष्टले राष्ट्रपतिलाई राष्ट्रपतिलाई बुझाएको १४९ जनाको सूचीमा हस्ताक्षर भने गरेका थिए ।

खनाल–नेपाल समूहका २६ जनाले गरेको हस्ताक्षरमा भने भट्टराईले हस्ताक्षर नगरेपछि माधव नेपाल समूहलाई छोडेको अनुमान गरिएको थियो ।

प्रतिक्रिया