चार बर्षमा बन्नुपर्ने पुल सातवर्षमा सम्पन्न, अझै सञ्चालनमा आएन
अखबार टुडे
प्रकाशित:
२०७८, १२ जेष्ठ

काठमाडौं, १२ जेष्ठ । नुवाकोट र धादिङ जिल्लालाई जोड्ने रणनीतिक मानिएको ‘त्रिशूली नदी पक्की पुल’ सञ्चालनमा नआउँदा धादिङ नीलकण्ठ नगरपालिकाबासीले हैरानी एवम् सास्ती झेल्नु परेको छ ।
सडक विभागले धादिङ् तर्फका फोस्रेटारमा करिव १५ मिटरको एप्रोज सडकको ट्र्याक हालसम्म खुलाउन नसक्दा सो नगरपालिबासी तथा नुवाकोटका तारकेश्र गाउँपालिकाका(तारुका) का बासिन्दाले अकालमा ज्यान समेत गुमाएका छन् ।
सो पुल धादिङको गल्छि गाउँपालिका–१ र नुवाकोटको बेलकोटगढी नगरपालिका –५ मा पर्छ । सडक डिभिजन कार्यालय भरतपुरद्वारा यही जेठ ७ गते जारी पत्रअनुसार फोस्रेटार तर्फका केही सीमित व्यक्तिका अनावश्यक अबरोध, असहयोग, विवादका कारण ट्र्याक खोल्न नसकिएको हो ।
ती दुई जिल्लाको सामाजिक तथा आर्थिक विकास एवम् रणनीतिक दृष्टिकोणले उक्त पुल महत्वपूर्ण मानिएको छ । केउरिनी– फोस्रेटार–आँपचौर –सुनौला बजार –धादिङबेशी सडकमा अवस्थित सो पुलको लम्बाइ १२० र चौडाइ १६ मीटर छ ।
निर्माण सम्पन्न भएको तीन महिना पुग्दा पनि पुल सञ्चालनमा नल्याइएकामा आपत्ति जनाउँदै छिटो विवाद टुङ्ग्याउन दबाब दिन नीलकण्ठ ५ का युवाले ‘पुल सञ्चालन अभियान’ नै शुरुआत गरेका छन् ।
पूर्व सांसद, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समिति, नीलकण्ठ नगरपालिका, गल्छि गाउँपालिका र विभागलाई छिटो भन्दा छिटो पुल सञ्चालनमा ल्याउन अभियाकर्मीले माग गरेका छन् ।
एप्रोज सडककको ट्र्याक खोल्ने विषयमा छिटो अध्ययन गरी ती सडकमा पर्ने जग्गाको मुआब्जा दिन आवश्यक परेमा मुआब्जा दिन र छिटो विवाद अन्त्य गर्न समेत अभियानकर्मी ती निकायको ध्यानाकर्षण समेत गराएका छन् ।
चरवर्षमा बन्नुपर्ने १९२ मिटर लामो पुल सातवर्षमा बल्ल सम्पन्न भएको थियो । २०७१ सालमा सडक विभाग र सपना हिम्डुङ एण्ड थोकर तथा नागार्जुन कन्सट्रक्सन जेभी कम्पनीका बीचमा ठेक्का सम्झौता भएको थियो ।
सो पुल सञ्चालनमा आएमा गल्छीदेखि केउरिनी– फोस्रेटार–आँपचौर –सुनौला बजार –धादिङबेशी पुग्न १० किलोमिटर बाटो छोटो हुने बताइएको छ । साथै नुवाकोटको तारुका जान समेत पनि सो बाटो सहज हुन्छ ।

प्रतिक्रिया