एमालेले बुधबार थप १२ जना नेताहरुलाई स्पष्टीकरण पत्र पठाउने
अखबार टुडे
प्रकाशित:
२०७८, १२ जेष्ठ

काठमाडौं, १२ जेष्ठ । नेकपा एमालेले बुधबार झलनाथ खनाल– माधव नेपाल पक्षका थप १२ जना नेताहरुलाई स्पष्टीकरण पत्र पठाउने भएको छ ।
सोमबार बसेको नेकपा स्थायी कमिटी बैठकले नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल, भीम रावललगायत ११ जनालाई पार्टीको साधारण सदस्यबाट नै निष्कासन गर्ने र अरु १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
विपक्षी गठबन्धनलाई सघाएका २३ जना विघटित प्रतिनिधिसभाका सदस्यमध्ये १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय भए अनुसार बुधबार उनीहरुलाई पत्र पठाउन लागिएको नेकपा एमालेको केन्द्रीय कार्यलयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
स्थायी कमिटी बैठकले सोमबार निर्णय गरेको भए पनि २ दिनसम्म केही विषयमा छलफल भएको र सबैले पत्रमार्फत नै जवाफ पठाउँछु भनेपछि आज पत्र पठाउन लागिएको सचिव तामाङको भनाइ छ ।
एमालेले थप स्पष्टीकरण सोध्ने निर्णय गरिएका नेताहरूमा सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका रहेका छन् ।
पार्टीभित्रको विवाद समाधानका लागि दुवै तर्फबाट ५÷५ जनाको कार्यदल बने पनि दुवै समूहले आफ्ना गतिविधि नरोक्दा नेकपा एमाले फुटको संघारमा पुगेको हो ।

प्रतिक्रिया