लुम्बिनी, ११ जेष्ठ । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्यको उपचुनावमा जनता सामाजवादी पार्टी (जसपा)का चार सांसदले मतदान गर्न नपाउने भएका छन् । उपचुनाव यही जेष्ठ १७ हुँदैछ ।
सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका चार प्रदेश सभा सदस्यमाथिको कारबाही यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरे पनि निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम मतदाता नामावलीमा ती सांसदको नाम छैन ।
निर्वाचन आयोगको अन्तिम मतदाता नामावलीमा प्रदेश सभा सदस्यबाट ७९ जनाको मात्रै नाम छ । जसमा जनता समाजवादी पार्टीले कारबाही गरेका प्रदेशका मन्त्री कल्पना पाण्डे, सन्तोष कुमार पाण्डे, विजयबहादुर यादव र सुमन शर्मा रायमाझीको नाम छैन ।
सर्वोच्चले गएको जेठ ३ मा उनीहरूलाई कारबाही गर्ने निर्णय जेठ १६ सम्मका लागि कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको थियो । सर्वोच्च अदालतको आदेशपछि उनीहरू अहिले प्रदेश सभा सदस्यको हैसियतमा छन् ।
तर प्रदेश सभाले त्यसअघि नै ८७ प्रदेश सभा सदस्य हुनुपर्नेमा जसपाले कारबाही गरेका चार जना, माओवादीले कारबाही गरेका दुई जना र एमालेबाट राजीनामा गरेका दुई जना गरी आठ जना प्रदेश सभा सदस्यको पद रिक्त भएको पत्र निर्वाचन आयोगलाई पठाएको थियो ।
प्रदेश सभा सचिवालयले पठाएको पत्रका आधारमा अन्तिम मतदाता नामावली प्रकाशन गरिएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए ।
लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्यको उपचुनाव यही जेष्ठ १७ गते हुँदैछ ।