म्यानमार आन्दोलनमा अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या ८,१८ पुग्यो
अखबार टुडे
प्रकाशित:
२०७८, ११ जेष्ठ

यांगुन, ११ जेष्ठ । म्यानमारमा सेनाले सत्ता नियन्त्रण लिएपछि भएको आन्दोलनका क्रममा अहिलेसम्म ८१८ जनाको मृत्यु भएको छ । तीन जनाको आइतबार मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।
दुई युवकलाई जुन्ता सरकारका सुरक्षाकर्मीले कयाह राज्यमा गोली हानेर मारेका हुन् । सहरबाट माग भएअनुसार गाउँबाट खाद्य पदार्थ लिएर आइरहेका बेला उनीहरुको हत्या भएको जनाइएको छ । उनीहरुको शव पनि सैनिकले नै नियन्त्रणमा लिएको समाचारमा जनाइएको छ ।
गएको फेब्रुअरी १ तारिखमा सेनाले सत्ता हातमा लिएपछि अहिलेसम्म आन्दोलन भइरहेको छ ।
सैनिक सरकारले अहिलेसम्म चार हजार दुई सय ९६ जनालाई पक्राउ गरेर थुनामा राखेको छ भने तीमध्ये ९५ जनालाई अदालतले नै थुन्ने आदेश दिएको छ ।
एक हजार ८ सय २२ जनालाई पक्राउ पूर्जी जारी गरेको समाचारसंस्था एएनआइले जनाएको छ । आन्दोलनकारी र सुरक्षाकर्मीका बीचमा भएको झडपमा १३ जना सुरक्षाकर्मीको पनि ज्यान गएको छ ।
सैन्य सरकारले म्यानमारकी नेतृ आङ सान सुकीसहितका शीर्ष र प्रभावशाली नेताहरुलाई पनि नियन्त्रणमा राखेको छ ।
प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई सेनाले विभिन्न आरोपमा लामो समय जेलमा राखेपछि हिजो विशेष अदालतमा उपस्थित गराइएको छ ।

प्रतिक्रिया