चन्द्रागिरीमा एकल महिला समूहको सक्रियता, आइसोलेशनमा निःशुल्क खाजाको व्यवस्था
अखबार टुडे
प्रकाशित:
२०७८, १० जेष्ठ

काठमाडौं, १० जेठ । मानव अधिकारका लागि महिला एकल महिला समूह, चन्द्रागिरीले आइसोलेशनमा बस्ने विमारी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई नास्ताको निःशुल्क व्यवस्था गर्दै आएको छ । चन्द्रागिरी नगरपालिकाले नगरभित्र चार स्थानमा आइसोलेशन सञ्चालन गर्दै आएको छ । ती आइसोलेशनमा बसेका विमारी तथा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई बिहान एक समय खाजा नास्ताको व्यस्था गर्दै आएको समूहले जनाएको हो ।

‘मानवीय सेवा नै धर्म हो’ भन्ने नाराका साथ चन्द्रागिरी नगरपालिकाको मातातिर्थ, बलम्बु र थानकोटको दुई स्थान गरी चार स्थानमा रहेको आइसोलेशनमा समूहले निःशुल्क खाजाको व्यवस्था गर्दै आएको हो ।

हाल ती आइसोलेशनहरुमा विमारी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मी गरी ७० जनालाई दैनिक हेभी खाजा खुवाउँदै आएको अध्यक्ष महर्जनले बताइन् । उनले भनिन्, ‘हामीले आइसोलेशनमा खटिएका स्वास्थ्यमकर्मी, सुरक्षाकर्मी र विमारीहरुलाई दैनिक हेभी खाजा खुवाउँदै आएका छौँ ।’

उपत्यका प्रवेश गर्ने मुख्य नाका थानकोटसँग जोडिएको चन्द्रागिरी नगरपालिका कोरोना संक्रमणको उच्च जोखिममध्येमा पर्छ । नगरपालिका भित्र संक्रमित बढ्दै गएपछि यहाँ एक साता सिल गरिएको थियो । तर, सोमबारबाट सिल फुकुवा गरिएको छ ।

यो समूहले यस पटक ४ जेठबाट आइसोलेशनको व्यवस्थासँगै निःशुल्क खाजा उपलब्ध गराउँदै आएको हो । पहिलो चरणको लकडाउनमा समेत समूहले लकडाउन प्रभावितहरुलाई निःशुल्क खाना खुवाएको थियो । त्यतिखेर मानव अधिकारका लागि महिला एकल महिला समूह ‘डब्लूएचआर’ हात्तीगौडाको संयोजत्वमा निःशुल्क खाना वितरण गरेको थियो ।

यसपटक कोरोनाको दोस्रो लहर फैलिएसँगै चन्द्रागिरी शाखाले आफ्नै खर्चमा आइसोलेशन र खानाको व्यवस्था गरेको महर्जनको भनाइ छ । उनका अनुसार यस अभियानमा तृषा नेपालले समन्वयन गर्दै आएको छ ।

प्रतिक्रिया