काठमाडौं उपत्यकामा निषेधाज्ञा थप एक साता थपिने
अखबार टुडे
प्रकाशित:
२०७८, १० जेष्ठ

काठमाडौं, १० जेष्ठ । दोस्रो लहरको कोरोना संक्रमणको भयावह अवस्थालाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्बिने तयारी भएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार अहिलेको अवस्थामा निषेधाज्ञालाई निरन्तरता दिनुको विकल्प नरहेको बताए ।
उनले काठमाडौं उपत्यकामा थपिने एक साताको निषेधाज्ञा थप कडाई गरिने पनि बताए ।
मंगलबार बस्ने उपत्यकास्थित तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरुको बैठकले निषेधाज्ञा थप्ने निर्णय गर्नेछ । साथै, थप आदेशहरु जारी गर्ने तयारीमा जिल्ला प्रशासनहरु छन् ।
विशेषगरी तरकारी पसलहरूमा बिहानको समय एकदमै बढी भिडभाड हुन थालेकाले त्यसलाई कसरी व्यवस्थित गर्ने विषयमा छलफल हुने उनले बताए । तरकारी तथा खाद्यान्न पसल बिहान १० बजेसम्म खुल्ने गरेका थिए ।
यसैगरी, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, संवैधानिक निकायहरूमा पनि हालको उपस्थितिबारे छलफल हुने भएको छ ।
उपत्यकामा जारी निषेधाज्ञाको समय जेठ १३ गतेसम्म छ । त्यसअगावै प्रशासनले थप एक साताको निषेधाज्ञा आदेश जारी गर्दैछ ।

प्रतिक्रिया