काठमाडौं, ९ जेष्ठ । प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनावमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध विपक्षी पाँच दलका नेताहरु सर्वोच्च अदालतमा सोमबार रिट दायर गर्ने भएका छन् ।
आइतबार समय अपुग भएकाले सोमबार विहान १० देखि ११ बजेसम्म सर्वोच्च अदालत जाने नेताहरु बताउछन् ।
रिटमा धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित गरेको दावी वैधानिक रहेको दावी गरिएको छ । कांग्रेस नेता रमेश लेखकका अनुसार रिटमा देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग गरिएको छ ।
त्यस्तै प्रतिनिधिसभा विघटन गर्ने सरकारको सिफारिस खारेज गरी संसद अधिवेशन बोलाउन अन्तरिम आदेश पनि माग गरिएको लेखकले बताए ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा रिटको मस्यौदा तयार गरेपछि संघीय संसद भवन नयाँ वानेश्वरमा आई रिटमा सांसदहरुले हस्ताक्षर गरेका थिए ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार मध्यरातमा संसद विघटन गरेपछि विपक्षी दलले १४९ जना सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दिन लागेका हुन् ।