नेपाली कांग्रेस प्रचण्डपथ अंगिकार गरेर कुदेजस्तो लाग्छ : प्रधानमन्त्री
अखबार टुडे
प्रकाशित:
२०७८, ९ जेष्ठ

काठमाडौं, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सत्ता कब्जा पथमा लागेको आरोप लगाएका छन् ।

आइतबार दिउँसो बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले देउवाले आफूलाई प्रधानमन्त्री दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष किर्ते हस्ताक्षर बुझाएको समेत आरोप लगाए ।

प्रधानमन्त्री ओलीले भने, ‘उनीहरू त हिजो लोकतान्त्रिक प्रणालीका विरूद्ध हतियार उठाएर गएका थिए । पछिल्लो समय ट्याक्टिकल मुभ गरेर पनि उनीहरूको उद्देश्य सत्ता कब्जा नै हो । तर आफूलाई प्रजातान्त्रिक भन्ने नेपाली कांग्रेस पनि प्रचण्डपथ अंगिकार गरेर कुदेको जस्तो लाग्छ ।’

उनले कांग्रेस नेता पुष्पा भुषालले आफूहरु चुनावमा सहभागी नहुने भन्दै दिएको अभिव्यक्तिको समेत आपत्ति जनाए । प्रधानमन्त्री ओलीले भने, ‘उहाँले हिजोमात्रै भनेको सुनेँ, ओलीले गरेको चुनावमा हामी सहभागी हुँदैनौँ रे । कसले गर्ने चुनावमा जानुहुन्छ त उहाँहरू । उहाँहरू आफैंले गराएको चुनावमा २३ सिटमा झरेको होइन ?’ कांग्रेस सभापति देउवाले आफ्नो पार्टीभित्र बिग्रह ल्याउन खोजेको समेत बताए ।

प्रधानमन्त्री ओलीले राष्ट्रपतिको स्वविवेकीय अधिकार रहेको संवैधानिक धारा प्रयोगमा कतै उजुरी नलाग्ने समेत दाबी गरे ।संविधानको धारा ७६ को उपधारा ५ लाई राष्ट्रपतिले स्वविवेकको रुपमा प्रयोग गर्न सक्ने संवैधानिक व्यवस्था रहेको दावी गर्दै उनले भने, ‘राष्ट्रपतिको स्वविवेकीय अधिकार प्रयोग गर्ने योमात्र एउटा ठाउँ हो । त्यसविरुद्ध कहीँ उजुरी लाग्ने वा हेरफेर गर्ने ठाउँ हुँदैन ।’

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध अहिले अपव्याख्या हुन थालेको पनि टिप्पणी गर्दै भने, ‘न्वारनदेखिको बल लगाएर बुद्धि र प्रतिष्ठाको दुरुपयोग गरेर अपव्याख्यामा उत्रिनु दुःखको कुरा हो ।’

प्रतिक्रिया