म्यानमारको सैनिक सरकारद्वारा १ लाख २५ हजार बढी शिक्षक निलम्बन
अखबार टुडे
प्रकाशित:
२०७८, ९ जेष्ठ

काठमाडौं, ९ जेष्ठ (एजेन्सी)। म्यानमारमा नयाँ शैक्षिक सत्र सुरू हुनुभन्दा केही दिनअघि म्यानमारका सैनिक सरकारले त्यहाँका १ लाख २५ हजारभन्द बढी शिक्षकहरुलाई निलम्बन गरिदिएको छ ।
नागरिक अवज्ञा आन्दोलनमा सहभागी भएको भन्दै म्यानमारको सैनिक सरकारले १ लाख २५ हजारभन्दा बढी शिक्षकहरूलाई निलम्बन गरेको हो ।
म्यानमार टिचर्स फेडेरेसनका अनुसार गत फेब्रुअरी १ मा कूमार्फत् सत्ता हत्याएको सेनाले त्यसको विरोधमा भएको नागरिक अवज्ञा आन्दोलनमा साथ दिएकाले उनीहरूले तत्काललाई जागिर गुमाउनु परेको बताएको छ ।
केही अभिभावक र शिक्षकले नयाँ शैक्षिक सत्र बहिष्कार गर्ने बताइसकेका छन् । म्यानमारका विद्यालयमा चार लाख ३० हजार शिक्षक छन् ।
फेडेरेसनका एक अधिकारी भन्छन् ‘यो नागरिकहरूलाई काममा फर्काउनका लागि धम्क्याउने तरिकामात्र हो । यदि उनीहरूले यी सबैलाई जागिरबाट निकाले भने पूरा प्रणाली नै रोकिन्छ,’। उनीविरूद्ध लागेको मुद्दा पनि काममा फर्किएपछि फिर्ता गर्ने सैनिक सरकारले बताएको छ ।
यसबारे सैनिक शासक र शिक्षा मन्त्रालयले कुनै प्रतिक्रिया दिएका छैनन् । सरकारले चलाएको ग्लोबल न्यु लाइट अफ म्यानमार समाचार पत्रले सबै विद्यार्थी र शिक्षकलाई विद्यालयमा फर्कन भनेको छ ।
सेनाले सत्ता लिएपछि स्वास्थ्य क्षेत्रका सहित धेरै सरकारी र निजी क्षेत्रका कर्मचारी काम छोडेर नागरिक अवज्ञा आन्दोलनमा लागेका थिए ।
झन्डै १९ हजार पाँच सय जना विश्वविद्यालयका कर्मचारीलाई पनि निलम्बन गरिएको शिक्षक समूहले बताएको छ ।
जुनबाट सुरू हुने म्यानमारको नयाँ शैक्षिक सत्रका लागि अर्को सातादेखि भर्ना सुरू हुँदैछ । तर केही अभिभावकहरूले आफ्ना सन्तानलाई विद्यालय नपठाउने तयारी गरेका छन् ।

प्रतिक्रिया