काठमाडौं, ९ जेठ । विपक्षी गठबन्धनका नेताहरु आज सर्वोच्च अदालत जाँने तयारीमा छन् । संसद विघटनविरुद्ध रिट हाल्न र त्यसको तयारीका लागि दलहरुले आफ्ना सांसदहरुलाई नागरिकतासहित संसद भवनमा बोलाइएको छ ।
कानुनी उपचारका लागि सर्वोच्च अदालत जाने तयारी भइरहेको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले जानकारी दिएका छन् । ‘‘तयारी पूरा हुनासाथ हामी सर्वोच्च जान्छौं,’ उनले भने । आफूहरु सकेसम्म आजै सर्वोच्च अदालत जाने तयारीमा रहेको नेपाली कांग्रेसका सचेतक पुष्पा भुसालले बताइन् ।
शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दूर्गा पौडेलको संयुक्त बैठकले संसद विघटनको कानुनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेको थियो ।
कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेका थिए । तर, दाबी नपुगेको भन्दै सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यराति संसद विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते नयाँ निर्वाचनको मिति घोषणा गरेकी छन् । विपक्षी गठबन्धन दलहरुबीच कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउने सहमति भएका छन् ।