सुकीको पार्टी खारेज गर्ने म्यान्मारको निर्वाचन आयोगको तयारी
अखबार टुडे
प्रकाशित:
२०७८, ८ जेष्ठ

नेपिडो, ८ जेष्ठ । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको पार्टी खारेज हुने संभावना देखिएको छ ।
सुकीको पार्टी नेस्नल लिग फर डेमोक्रेसी (एनएलडी)लाई देशको निर्वाचन आयोगले खारेज गरिदिने तयारी गरेको हो ।
गएको बर्ष भएको निर्वाचनमा जालसाझी गरेको आरोप लगाउदै सो पार्टी खारेज गर्ने बारेमा विचार गरिरहेको आयोगले स्पष्ट पारेको छ ।
सेनाद्धारा नियुक्त गरिएका आयोगका अध्यक्ष थेइन सोएले राजनीतिक दलहरुसँग राजधानीमा शुक्रबार भएको छलफलमा सुकीको पार्टी खारेज गर्ने बारेमा आफुहरुले विचार गरिरहेको जानकारी दिएको हो ।
‘सो पार्टीले अरु पनि अवैधानिक कामहरु गरिरहेकाले त्यो पार्टी विघटन हुनसक्छ,’ उनले बैकमा भन्नुभयो । गत बर्षको नोभेम्बरमा भएको निर्वाचनमा एनएलडीले ८३ सिटमा जित हासिल गरेको थियो । त्यस निर्वाचनलाई सेनाले धाँधलीपूर्ण भएको भन्दै असन्तुष्टि जनाउदै आएको थियो ।
त्यतिबेलाको निर्वाचन धाँधलीपूर्ण भएकाले फेरि अर्को निर्वाचन गर्नुपर्ने भन्दै म्यानमारमा सेनाले सत्ता नियन्त्रणमा लिएको छ । म्यानमारमा सेनाले शिर्ष नेताहरुलाई बन्दक बनाउदै सत्ता नियन्त्रणमा लिएर अहिले आफै शासन गरिरहेको छ ।
गत फेब्रअरी १ मा सेनाले शासन हातमा लिएपछि त्यसको विरोधमा म्यानमारमा नागरिक आन्दोलन भइरहेको छ ।

प्रतिक्रिया