राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध विपक्षी गठबन्धन सर्वोच्च जाने तयारी
अखबार टुडे
प्रकाशित:
२०७८, ८ जेष्ठ

काठमाडौं, ८ जेठ । प्रतिनिधिसभा विघटन गरि मध्यावधि चुनावमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध कानुनी र राजनीतिक रुपमा प्रतिवाद गर्न विपक्षी गठबन्धन पाँच दल सर्वोच्च अदालत जाने भएका छन् ।

शनिबार बानेश्वरमा बसेको ५ दलको बैठकले १४९ जना सांसदसहित नेताहरु सर्वोच्च जाने निर्णय गरेको हो । शुक्रबार प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गरेर राष्ट्रपतिसमक्ष हस्ताक्षर बुझाएका पाँचै दलका सांसद सहितका नेताहरु संसद पुनःस्थापनाको मागसहित न्याय माग्दै सर्वोच्च जान लागेका हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनावको मिति घोषणा गरेको विषयलाई ५ दलीय गठबन्धनले असंवैधानिक कदम भएको ठहर गर्दै अस्वीकार गर्ने घोषणा गरेको हो ।

बैठकपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति र प्रधानमन्त्रीले असंवैधानिक तरिकाले षडयन्त्रपूर्वक संसद विघटन गरेकाले यसको सबै किसिमबाट प्रतिवाद गरिने जानकारी दिए । त्यसका लागि विपक्षी दलले आफ्ना सांसदहरुलाई नागरिकतासहित आइतबार १ बजे संसद भवनमा बोलाएका छन् ।

प्रतिक्रिया