असाहय र सडक बालबालिकालाई निःशुल्क खाना र खाद्यन्न बाँड्दै निशान्जय फाउण्डेशन
अखबार टुडे
प्रकाशित:
२०७८, ७ जेष्ठ

काठमाडौं, ७ जेठ । विश्व महामारीका रुपमा फैलिएको कोरोभाइरस (कोभिड–१९)को दोस्रो लहरको जोखिम बढेसँगै त्यसको रोकथाम र नियन्त्रण गर्न सरकारले उपत्यकालगायत देशका अधिकांश जिल्लामा निषेधाज्ञा तथा तथा लकडाउन जारी गरेको छ ।

निषेधाज्ञा तथा लकडाउनका कारण दैनिक ज्यालादारी तथा सडक पेटीमा बसेर गुजारा गर्दै आएकाहरु फेरि भोकभोकै हुन थालेका छन् । यसअघि कोरोना संक्रमणको पहिलो चरणमा झण्डै १० महिना देश पूरै लकडाउन हुँदा हजारौँ मजदुर, श्रमिक, सडक बालबालिका तथा असाहय र बुद्धबृद्धा भोकभोकै भएका थिए । यस्तै, अहिले पनि उनीहरुलाई रोगभन्दा भोकको चिन्ता बढेको छ । तर, राज्यले उनीहरुका लागि कुनै राहत प्याकेज ल्याएको छैन ।

यसैलाई मध्यनजर गर्दै गैरसरकारी संस्था निशान्जय फाउण्डेशन (एनएसएफ)ले असाहय तथा सडक बालबालिकाहरुलाई निःशुल्क खाना वितरण गर्दै आएको छ । पहिलो चरणको लकडाउनकै बेला फाउण्डेशनले पशुपति मन्दिर क्षेत्रमा आश्रित सडक बालबालिका तथा असाहयहरुलाई खाना खुवाउन सुरु गरेको थियो । त्यो क्रम फेरि सुरु गरेको फाउण्डेशनका कोषाध्यक्ष सञ्जयलाल श्रेष्ठले जानकारी दिए ।

फाउण्डेशनले संक्रमणको दोस्रो लहर फैलिएसँगै सरकारद्वारा जारी निषेधाज्ञापछि पुनः पशुपति क्षेत्रमा आश्रित सडक बालबालिकालाई खाना खुवाउन सुरु गरेको हो ।

फाउण्डेशनका कोषाध्यक्ष श्रेष्ठले भने, ‘तीन चार दिन भयो, दैनिक ४० जना सडक बालबालिका तथा असाहयहरुलाई खाना खुवाउँदै आएका छौँ ।’ यसबाहेक फाउण्डेशनले निम्न वर्गका एकल महिलाहरुलाई समस्या भए घरमै खाद्यन्न पुर्याइदिने गरेको समेत उनले बताए ।

यसैक्रममा फाउण्डेशनले शुक्रबार कालोपुल सिफल क्षेत्रका असाहय तथा निम्न वर्गका एकल महिला एवं बृद्धबृद्धालाई खाद्यन्न वितरण गरेको छ । फाउण्डेशनका अध्यक्ष निशा महर्जनका अनुसार अहिले अरुमार्फत समेत खाना तथा खाद्यन्न वितरण गरिदिनु पर्यो भन्दै सहयोग आउन थालेको छ ।

सुरुमा आफ्नै खर्चमा समाज सेवा सुरु गरेको फाउण्डेशनले पछिल्लो समय जन्मदिन तथा कुनै विशेष फक्शनमा सहयोग गर्न चाहने मनकारीबाट आएको सहयोगलाई पनि वितरण गर्दै आएको छ ।

गत बैशाख अर्थात पहिलो चरणको लकडाउनदेखि नै सडक बालबालिका, निम्न वर्गका एकल महिला र असाहयहरुलाई खाद्यन्न तथा निःशूल्क खाना वितरण गर्दै आएको फाउण्डेशनले अहिले आएर सडकका भुस्याहा कुकुरका लागि समेत खानाको व्यवस्था गर्न थालेको कोषाध्यक्ष श्रेष्ठले बताए । उनले भने, ‘लकडाउनका कारण सबै क्षेत्र ठप्प भएपछि सडकमा भएका कुकुरहरु समेत भोकभोकै हुन थालेकाले राति सडकमा खाना राखिदिन सुरु गरेका हौँ ।’

प्रतिक्रिया