प्रतिनिधिसभामा हाल २७१ सांसद, तर दुई पक्ष गरी ३०२ जनाको हस्ताक्षरसहित प्रधानमन्त्रीको दावी
अखबार टुडे
प्रकाशित:
२०७८, ७ जेष्ठ

काठमाडौं, ७ जेठ । संविधानको धारा ७६ को उपधारा ५ अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि दिएको समय सकिएको छ । बिहीबार राष्ट्रपतिले नयाँ सरकार गठनका लागि शुक्रबार; साँझ ५ बजेसम्म समय दिएकी थिइन् ।

यस समयावधिमा विपक्षी गठबन्धन र प्रधानमन्त्री केपी शर्मा ओली सरकार गठनका राष्ट्रपतिसमक्ष दावी पेस गरेका छन् ।

विपक्षी गठबन्धनका तर्फबाट शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सारिएको छ भने ओलीले पनि बहुमत सांसदको हस्ताक्षरसहित सरकार गठनको दावी गरेका छन् । तर, रमाइलो कुरा के भने दुई पक्षको हस्ताक्षर दावी गरिएको सांसदको संख्या जोड्दा ३०२ पुग्छ । तर, हाल प्रतिनिधिसभामा २७१ जना सांसद छन् ।

ओलीले एमालेका १२१ सांसद र जनता समाजवादीका ३२ सांसद गरी १५३ सांसदको हस्ताक्षर लगेर सरकारको नेतृत्वका लागि राष्ट्रपति समक्ष आधार पेश गरेको प्रधानमन्त्री ओलीका सल्लाहकार विष्णु रिमालले जनाएका छन् । ओलीले बुझाएको हस्ताक्षरमा एमालेका तर्फबाट अध्यक्ष ओली र जसपाका तर्फबाट महन्थ ठाकुर र राजेन्द्र महतोको हस्ताक्षर रहेको बताइन्छ ।

यता विपक्षी गठबन्धनले भने १४९ सांसदको हस्ताक्षर पेश गरेका छन् । दुवैतर्फको सांसद संख्या जोड्दा ३०२ हुन्छ । बहुमतको हस्ताक्षर संविधानको धारा ७६ को उपधारा ५ मा राष्ट्रपतिले स्वविवेकीय निर्णय गर्न पाउने भएकाले उनले कसलाई मान्यता दिन्छिन् भन्ने प्रश्न उठेको छ ।

प्रतिक्रिया