वैकिल्पक सरकार गठन नभए आफूलाई साथ दिन प्रधानमन्त्रीको आग्रह
अखबार टुडे
प्रकाशित:
२०७८, ७ जेष्ठ

काठमाडौं, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्न आव्हान गरेका छन् ।

शुक्रबार बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले दलहरूलाई वैकल्पिक सरकार बनाउन सुझाव दिँदै त्यसो नभए आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन सहयोग गर्न दलहरूलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘वैकल्पिक सरकार बनाउनुस् । मेरो दलले रचनात्मक सहयोग गर्छ ।’ वैकल्पिक सरकार गठनको सम्भावना नभए आफ्नै नेतृत्वको सरकार गठनमा साथ दिन उनले आग्रह गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘कि राष्ट्रिय सरकार बनाऔँ र सबैको सहयोगमा कोभिड–१९ विरुद्ध लडौँ ।’ उनले आफूले वैकल्पिक सरकार गठन गर्न बाटो खोलिदिएको भन्दै यसबारेमा नकारात्मक र आवेश उत्तेजनामा नजान समेत आग्रह गरे ।

करिब डेढ घण्टा लामो पत्रकार सम्मेलनाम प्रधानमन्त्री ओलीले राष्ट्रपतिको समेत बचाउ गरे । उनले भने, ‘मैले गरेको सिफारिसप्रति म जवाफदेही छु । अहिले पनि म जवाफदेही छु । राष्ट्रपतिलाई दोष किन ?’ प्रधानमन्त्री ओलीले ‘राष्ट्रपति गणतन्त्रको प्रतीक’ भएको बताउँदै राष्ट्रपतिको विरोध गर्नेहरुले गणतन्त्रलाई कमजोर बनाउन खोजेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रपतिको हुर्मत लिने र अपमान गर्ने काम भएको छ । यसले राष्ट्रपति संस्थाको मर्यादा घटाउने काम भयो ।’ प्रधानमन्त्री ओलीले विरोध गर्नेहरुले राष्ट्रपतिको संवैधानिक काम कर्तव्य नबुझेको दावी गरे ।

प्रतिक्रिया