सिंहदरबारमा जुट्दै विपक्षीहरु : के निर्णय गर्दैछन् ?
अखबार टुडे
प्रकाशित:
२०७८, ७ जेष्ठ

काठमाडौं, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमसँगै दलहरुमा दौडधुप बढेको छ । प्रधानमन्त्री ओलीले आफूले विश्वासको मत नलिने बताउँदै नयाँ सरकार गठनका लागि प्रसस्त मार्ग खुला गरेको बताएपछि बिहीबार राष्ट्रपतिले बैकल्पिक सरकार गठनको लागि आह्वान गरेकी छन् ।

तर, एकदमै छोटो समय राखेर नयाँ सरकार गठनका लागि आह्वान गरेपछि विपक्षी दलहरु रुष्ट मात्र भएका छैनन्, उनीहरुको दौडधुप बढेको छ ।

यससँगै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा अन्य दलसँग छलफलमा जुटेका छन् । सभापति देउवाले शुक्रबार आफ्नै निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले बरिष्ठ नेता माधवकुमार नेपाललगायत नेतासँग छलफल गरेका छन् ।

बुढानीकण्ठको बैठकलगतै कांग्रेसलगायतका विपक्षीहरु नेताहरु आ–आफ्नो दलमा आन्तरिक छलफलमा जुटेका छन् । यस्तै आजै तीन बजेपछि फेरि विपक्षी दलहरुको संयुक्त बैठक बस्ने भएको छ । आन्तरिक छलफल सकाएपछि सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरुको बैठक बस्ने भएको हो ।

विपक्षी दललले राष्ट्रपतिविरुद्ध महाअभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेका छन् ।

यता, प्रधानमन्त्री ओलीले आफूले संसद छलेर सरकार गठन गर्न नचाहेको बताएका छन् । शुक्रबार बालुवाटारमा सम्पादकहरुको अन्तक्रियामा बोल्दै उनले बजेटको चाप र विश्वासको मत नपाउने भएर नयाँ सरकार गठन गर्न आह्रवान गरेको बताए । ‘मेरो उद्देश्य संसद छलेर सरकार कब्जा गर्ने होइन, बजेटको चाप र विश्वासको मत नपाउने भएर हो ।’

प्रतिक्रिया