इजरायल र प्यालेस्टीनी विद्रोहीबीच युद्धविराम
अखबार टुडे
प्रकाशित:
२०७८, ७ जेष्ठ

काठमाडौं, ७ जेष्ठ । ११ दिन लामो हिंसात्मक गतिविधिपछि इजरायल र प्यालेस्टाइनबीच अन्तत युद्धविराम भएको छ ।
दुवै पक्षले युद्धविरामको सहमति गरेको र शुत्रबार बिहानदेखि नै लागू भएको बीबीसीले जनाएको छ ।
बिहीबार राति इजरायली मन्त्रिपरिषद्ले ‘आपसी समझदारी र बिनासर्त’ युद्धविराम गर्न अनुमति दिएपछि हमासका तर्फबाट पनि स्थानीय समयअनुसार शुक्रबार बिहान २ बजेदेखि युद्धविराम भएको बताएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधवार इजरायली प्रधानमन्त्रीलाई फोन गरेर युद्धविरामको पहल गर्न अनुरोध गरेका थिए भने इजिप्ट, कतार र संयुक्त राष्ट्रसङ्घले पनि गाजामा शासन गर्ने हमास र इजरायलबीच युद्धविरामका लागि पहल गरेका थिए ।
११ दिन चलेको हिंसात्मक द्वन्द्वमा कम्तीमा एक सय जना बालबालिका र महिलासहित दुई सय ३२ जना प्यालेस्टिनी नागरिकले ज्यान गुमाएका छन् । इजरायलतर्फ १२ जनाको ज्यान गएको छ ।
युद्धको अवधिमा प्यालेस्टाइनको तर्फबाट चार हजारभन्दा धेरै रकेट प्रहार भएका छन् भने इजरायलले पनि गाजा क्षेत्रमा सयौँ हवाई आक्रमण गरेको थिए । युद्धविरामपछि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरस र अमेरिकी राष्ट्रपति बाइडेनले स्वागत गरेको छ ।
युद्धविराम घोषणा भएपछि जेरुसेलम शान्त देखिएको र गाजामा प्यालेस्टिनी नागरिकले खुसीयाली मनाएका बीबीसीले जनाएको छ । गाजा क्षेत्रमा भड्किएको हिंसा सन् २०१४ यताकै गम्भीर हो ।

प्रतिक्रिया