ईश्वर पोखरेलको संयोजकत्वमा गठित सीसीएमसी खारेज गर्न माओवादी केन्द्रको माग
अखबार टुडे
प्रकाशित:
२०७८, ६ जेष्ठ

काठमाडौं, ६ जेष्ठ । नेकपा (माओवादी केन्द्र)ले ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) खारेज गर्न माग गरेको छ ।
विपद्सम्बन्धी घटना हेर्नका लागि विभिन्न सरकारी संयन्त्र भए पनि तिनलाई काम गर्न नदिइ कानुनी हैसियत नभएको सीसीएमसी गठन गरिएको र सीसीएमसी मार्फत् अनियमितता र भ्रष्टाचार भएको भन्दै त्यसलाई खारेजी गर्नुपर्ने नेकपा (माओवादी केन्द्र)ले माग गरेको हो ।
बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले सीसीएमसी खारेजीको मागसहित प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको नेता हरिबोल गजुरेलले जानकारी दिए । माओवादी केन्द्रले कोभिड नियन्त्रणका लागि प्रधानमन्त्रीको नेतृत्वमा सर्वपक्षीय सर्वदलीय संयन्त्र बनाउन समेत माग गर्ने निर्णय गरेको छ ।
माओवादीले कोभिड नियन्त्रण तथा रोकथाममा सिंगो पार्टी पंक्ति परिचालन गर्ने समेत निर्णय गरेको छ । अध्यक्ष प्रचण्डको नेतृत्वमा कोभिड नियन्त्रण युनिट गठन गरेको माओवादीले सातै प्रदेश, सबै जिल्ला र सबै पालिका र वडाहरूमा ५ दिनभित्र कमिटीहरु गठन गरेर कोभिडविरुद्ध काम गर्ने भएको छ ।

प्रतिक्रिया