राष्ट्रियसभा सदस्यका लागि मतदान सुरु
अखबार टुडे
प्रकाशित:
२०७८, ६ जेष्ठ

मकवानपुर, ६ जेठ । बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको चयनका लागि मतदान सुरु भएको छ ।

हेटौंडास्थित भुटनदेवी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा बनाइएका तीनवटा बुथमा मतदान बिहीबार सुरु भएको हो । बिहान ९ बजे सुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ ।

बिहानदेखि पानी परिरहकाले त्रिपाल टाँगेर मतदानको व्यवस्था गरिएको छ । पानी परिरहेकै बेला राष्ट्रियसभा सदस्यका उम्मेदवार रामबहादुर थापा ‘बादल’ मतदानस्थलमा पुगेका छन् । मतदान केन्द्रमा विपक्षी गठबन्धनका उम्मेदवार खिमलाल देवकोटा र नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङ, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको पनि उपस्थिति रहेको छ ।

राष्ट्रियसभा सदस्य उम्मेदवारका लागि माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका बादललाई एमालेले आधिकारिक उम्मेदवारका रुपमा अघि सारेको छ भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र एमालेकै माधव नेपाल समूहको संयुक्त गठबन्धनबाट देवकोटालाई प्रतिस्पर्धी उम्मेदवारका रुपमा अघि सारिएको छ । अर्का उम्मेदवार नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङ रहेका छन् ।

हाल बाग्मती प्रदेश सभामा कायम ११० सदस्य र बाग्मती प्रदेशअन्तर्गतका सबै गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी २३८ जना रहेका छन् । सबै लगाएर कुल ३४८ मतदाता रहेका छन् ।

प्रतिक्रिया