शेयर बजारमा नेप्से घटे पनि कारोबार रकममा भने नयाँ कीर्तिमान
अखबार टुडे
प्रकाशित:
२०७८, ५ जेष्ठ

काठमाडौं, ५ जेष्ठ । केही दिनयता बढेर रेकर्ड कायम गरेको शेयर बजार परिसूचक नेप्से बुधवार भने घटेको छ ।
कारोबार रकममा नयाँ रेकर्ड बनेको दिन नेप्से १३ दशमलव शून्य नौ अङ्कले घटेर २७ सय ८० दशमलव ८१ विन्दुमा झरेको छ ।
बैंक, होटल, व्यापार र फाइनान्स समूहको शेयर बढे पनि अरू समूहको शेयर घटेको छ । विकास बैंक समूहको शेयर ५२ अङ्कले घटेको छ ।
यस्तै जलविद्युत् समूहको साढे ६० अङ्कले, जीवन बीमाको २९, निर्जीवन बीमाको एक सय ५८, उत्पादनको ६६ र अन्य समूहको शेयर साढे २७ अङ्कले ओरालो लागेको छ ।
नेप्से घटे पनि कारोबार रकममा भने नयाँ कीर्तिमान कायम भएको छ । आज दुई सय १४ कम्पनीका दुई करोड ५१ लाख कित्ता शेयर ११ अर्ब ९५ करोड ८० लाख रुपैयाँमा किनबेच भएका छन् । यो रकम नेपालको शेयर बजार इतिहासमा अहिलेसम्मकै धेरै हो ।
बुधवार नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ५५ करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । ङ्यादी ग्रुप हाइड्रोको शेयर सबैभन्दा धेरै झण्डै सात प्रतिशतले घटेको छ ।

प्रतिक्रिया