मौन अवधिमा प्रधानमन्त्रीले मत मागेपछि आयोगले निकाल्यो यस्तो विज्ञप्ति
अखबार टुडे
प्रकाशित:
२०७८, ५ जेष्ठ

काठमाडौं, ५ जेठ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरेको छ । जेठ ६ बिहीबार हुने बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि मौन अवधि सुरु भइसकेको भन्दै आयोगले आचारसंहिता पालना गर्न आग्रह गरेको हो ।

बुधबार एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्य उम्मेदवार रामबहादुर थापा ‘बादल’लागि भोट दिन आह्वान गरेका थिए । त्यसलगतै आयोगले बुधबार विज्ञप्ति जारी गर्दै आचार संहिता पूर्णरुपमा पालना गर्न आग्रह गरेको हो ।

प्रधानमन्त्री ओलीले आफ्नो आह्वानमा आफ्ना दलका नेतालाई मत नदिए अक्षम्य हुने समेत बताएका छन् ।
यस निर्वाचन प्रयोजनका लागि आयोगले जारी गरेको निर्वाचन आचारसंहिता अनुसार यही ३ जेठको राती १२ बजेपछि निर्वाचनको मौन अवधि सुरु भइसकेको छ । यस अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने, एस.एम.एस, फेसवुक, भाईवरजस्ता बिद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने भएको हुँदा यस्ता आचरणहरु पालना गर्न गराउन आयोगले अनुरोध गरेको छ ।

यस उपनिर्वाचनमा बागमती प्रदेशसभा सदस्य ११० जना र बागमती प्रदेश अन्तर्गतका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुख २३८ गरी ३४८ जना मतदाता रहेको निर्वाचक मण्डलबाट पहिलो हुने निर्वाचित हुनेछ । निर्वाचक मण्डलका सबै मतदाताहरुलाई २०७८ जेठ ६ गते ९ बजेदेखि ३ बजेसम्म हुने मतदानमा सहभागी हुन समेत आयोगले अनुरोध गरेको छ ।

आयोगको प्रेस विज्ञप्ति

राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा आचार संहिता पालना सम्बन्धमा

सम्वत् २०७८ साल जेठ ६ गते बिहीबारका दिन सम्पन्न हुने बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढंगबाट सम्पन्न गर्न आयोग प्रतिवद्ध र क्रियाशील रहेको छ । यस उपनिर्वाचनमा बागमति प्रदेश सभा सदस्य ११० जना र बागमति प्रदेश अन्तर्गतका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुख २३८ गरी ३४८ जना मतदाता रहेको निर्वाचक मण्डलबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम निर्वाचन हुँदैछ । निर्वाचक मण्डलका सबै मतदाताहरुलाई २०७८ जेठ ६ गते ९ बजेदेखि ३ बजेसम्म हुने मतदानमा सहभागी हुन आयोग अनुरोध गर्दछ । यस निर्वाचन प्रयोजनका लागि आयोगले जारी गरेको निर्वाचन आचार संहिता अनुसार यही जेठ ३ गते राती १२ बजेपछि निर्वाचनको मौन अवधि सुरु भई सकेको छ । यस अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने, एस.एम.एस, फेसवुक, भाईवर जस्ता बिद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने, उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने भएको हुँदा यस्ता आचरणहरु पालना गर्न गराउन सम्वद्ध सबैसँग आयोगले हार्दिक अनुरोध गर्दै आएको छ ।
आयोगले अनुरोध गर्दागर्दै पनि केही व्यक्तिहरुले आचार संहिता विपरीत वक्तब्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने र केही सञ्चार माध्यमहरुले उम्मेदवारको जीत हारको पूर्वानुमानका सामग्रीहरु प्रसार गर्ने तथा विभिन्न व्यक्तिहरुको अन्तरवार्ता लिने जस्ता गतिविधिहरु गरेको देखिएकोले यस तर्फ आयोगको गम्भीररुपमा ध्यानाकर्षण भएको छ । निर्वाचनको सिलसिलामा राजनीतिक दल, सार्वजनिक निकाय तथा सञ्चार माध्यम लगायतले पालना गर्नुपर्ने आचार संहिता समेत लागू भइसकेको सन्दर्भमा आचार संहिता विपरितका यस्ता क्रियाकलापले निर्वाचनको स्वच्छता र विश्वसनीयता प्रति नै आघात पार्ने कुरा स्पष्ट नै छ ।
एकातर्फ आयोगले निर्वाचन आचार संहिता कडाइका साथ लागूगर्न नसक्ने भनी आलोचना पनि गर्ने र अर्कोतर्फ आपैm आचार संहिता विपरीतका गतिविधिमा संलग्न हुनु कुनै पनि दृष्टिकोणबाट स्वीकार्य हुँदैन । अतः निर्वाचन आचार संहिता विपरितका कार्य गर्ने व्यक्ति वा संस्थालाई आयाोगले कानून बमोजिम कारवाही गर्न सक्ने कुरा प्रष्ट गर्दै यसरी आचार संहिता विपरीत कार्य गर्नेको अभिलेख राख्ने व्यहोरा समेत जानकारी गराइन्छ । निर्वाचन आचार संहिता एक कानूनी आधार र नैतिक वन्धन पनि भएकोले सोको पालना गरी निर्वाचनलाई निष्पक्ष ढंगबाट सञ्चालन गर्ने आयोगको कार्यमा सहयोग पु¥यादिनुहुन सम्बन्धित सबैमा आयोग पुनः अपिल गर्दछ ।

     (राजकुमार श्रेष्ठ)
सहसचिव एवं प्रवक्ता
प्रतिक्रिया