दाउन्नेमा बस दुर्घटना : ४ जनाको मृत्यु, ४९ घाइते
अखबार टुडे
प्रकाशित:
२०७८, ५ जेष्ठ

नवलपरासी, ५ जेठ । पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने सडकखण्डमा आज बिहान बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन् ।

बुधबार बिहान साढे ५ बजेको समयमा जिल्लाको बर्दघाट नगरपालिका ४ दाउन्ने सडकखण्डको बाँस खोलामा बस खस्दा उक्त दुर्घटना भएको हो । काठमाडौंबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस खोलामा खसेर दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको र ४९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको ४ जना मध्ये २ जनाको मात्र सनाखत भएको र थप २ जनाको सनाखत गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा रुकुम पश्चिम त्रिवेणी गाउँपालिका वडा बस्ने २७ वर्षीया कल्पना पुन र रुकुम पूर्व सिस्ने गाउँपालिका वडा ४ बस्ने ३६ वर्षीय धनराज घर्ती रहेको प्रहरी नायब उपरिक्षक राजु लामाले जानकारी दिए ।

दुर्घटनामा परि घाइतेहरुको प्रहरीले उद्दार गरि गम्भीर घाइतेहरुको उपचारका लागि बुटवलका अस्पतालहरुमा पठाएको र अरु घाइतेहरुको बर्दघाटस्थित चिसापानी सामुदायिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । बसमा कुल ५८ जना सवार थिए ।

प्रतिक्रिया