लमजुङ केन्द्रबिन्दु बनाएर फेरि ५.३ रेक्टर स्केलको भूकम्प
अखबार टुडे
प्रकाशित:
२०७८, ५ जेष्ठ

काठमाडौं, ५ जेठ । लमजुङमै केन्द्र बनाएर फेरि भूकम्प गएको छ । बुधबार बिहान लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर ८ बजेर २६ मिनेट जाँदा ५.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि भुलभुलेलाई नै केन्द्रबिन्दु बनाएर५ बजेर ४२ मिनेट जाँदा ५.८ रेक्टर स्केलको भूकम्प गएको थियो ।
भूकम्पको धक्का गण्डकी प्रदेश, लुम्बिनीका केही जिल्ला र काठमाडौं उपत्यकासहित केही जिल्लामा महसुस गरिएको छ । भूकम्पमा केही घर भत्किनुका साथै केही स्थानीय घाइते भएका छन् ।
भूकम्पको केन्द्रविन्दु मस्र्याङ्दी गाउँपालिकाका घरहरूमा बढीजसो क्षति पुगेको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले भूकम्पपछि मानिसहरूबीच भागाभाग भएको बताए । उनका अनुसार केही घरमा क्षति भएको र केही स्थानीय घाइते भएको जानकारीमा आएको छ । थप विवरण आउन अझै बाँकी छ ।
प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले घर भत्किँदा बेंसीसहर नगरपालिका–६ चनौटेकी ३६ वर्षीया उमा गुरुङ र बेंसीसहर–११ रामचोकबेंसीकी ८७ वर्षीया खोपकुमारी पाण्डे घाइते भएको जानकारी दिए । दुवै जनाको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको उनले बताए ।

प्रतिक्रिया