नेपाल खबर

नाष्टको सफलता : नेपालमै बन्ने भो अक्सिजन सिलिण्डर

काठमाडौं, ४ जेठ । अब नेपालमै अक्सिजन सिलिण्डर बन्ने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)ले पहिलोपटक अक्सिजन सिलिण्डर उत्पादन परीक्षण सफल भएसँग अब नेपालमै अक्सिजन सिलिण्डर बन्ने भएको हो ।

कोभिडको महामारी दोस्रो लहर फैलिएसँगै अक्सिजन सिलिन्डरको चरम अभाव भइरहेका बेला नयाँ सिलिण्डर निर्माण गरी परीक्षण गरिएको हो । अक्सिजन सिलिण्डर परीक्षणको मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले शुभारम्भ गरे ।

नाष्टका वैज्ञानिकसँग भएको भेटमा मन्त्री श्रेष्ठले सिलिण्डर उत्पादन गर्न सक्ने अवस्थाबारे जानकारी लिएलगत्तै नाष्टले सफल परीक्षण गरेको जानकारी गराएको थियो ।

नाष्टका प्रविधि संकाय प्रमुख डा. रविन्द्र ढकालले प्रेसर धान्न सक्ने सिलिण्डर तयार भएको जानकारी दिए । उनले भने, ‘सुरक्षाको अन्तिम उपाय अबलम्बन गर्न बाँकी छ, केही दिनमा सिलिण्डर उत्पादन गर्ने कम्पनीसँग छलफल गरी व्यवसायिक उत्पादन गर्न अनुमति दिनेछौँ ।’

उनका अनुसार नेपालमा पाइने सिलिण्डरको न्युनतम मुल्य करिब १५ हजार पर्नेछ भने नाष्टको प्रबिधि प्रयोग भएको सिलिन्डरको करिब १० हजारभन्दा कम मुल्य पर्नेछ ।

परीक्षण अवलोकन गर्न नाष्टको मुख्यालय पुगेका मन्त्री श्रेष्ठले नाष्टका उपकुलपति डा .सुनिलवावु श्रेष्ठ, वैज्ञानिक शंकर ढकाललगायत टिमलाई धन्यावाद दिँदै भने, ‘नेपालका वैज्ञानिकको मेहेनतको कारण गएको कोभिड संक्रमण नियन्त्रण गर्न स्वाब कलेक्सन भ्यान, स्यानीटाइजर, धुनमिल्ने मास्क निर्माण गरेर कोभिड नियन्त्रणमा महत्वपुर्ण योगदान गरेको छ ।’

मन्त्री श्रेष्ठले नाष्टले अझै धेरै आविष्कार गर्न बाँकी रहेको बताउँदै त्यसका लागि सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

हालसम्म नेपाल यस्तो सिलिण्डर निर्माण गरिएको थिएन । आयातित सिलिण्डरको गुणस्तर परीक्षणसमेत हुने गरेको छैन । मन्त्री श्रेष्ठले ठूला अस्पतालमा अक्सिजनउत्पादन प्लान्ट नहुनु विडम्बना भएको बताए ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top