खुसीको खबर : फाइजर खोपलाई लामो समय फ्रिजमा भण्डारण गर्न सकिने
अखबार टुडे
प्रकाशित:
२०७८, ४ जेष्ठ

ब्रसेल्स, ४ जेठ । युरोपेली संघ (ईयू)को औषधि नियामक निकायले फाइजरको कोभिडविरुद्धको खोप अब यसअघि भनिएभन्दा निकै बढी समय फ्रिजमा भण्डारण गर्न सकिने जनाएको छ । यसले नेपालजस्तो मुलुकलाई फाइदा हुनेछ ।

युरोपेली औषधि निकाय ईएमएले जमेको खोप पूर्णतया पग्लिएको अवस्थामा नखोलिएको खोपको भाँडो (भायल) एक महिनासम्म फ्रिजमा राख्न सकिने जनाएको हो । यसअघि त्यसरी भण्डारण गर्नका लागि पाँच दिनको समय निर्धारण गरिएको थियो ।

यसअघिको तोकिएको भण्डारण मापदण्डले गर्दा फाइजर खोपलाई संसारका केही ठाउँमा प्रयोग गर्न निकै कठिन बनाएको थियो । यो खोप बढी समय भण्डारण गर्न पाउँदा ईयू सदस्य देशहरूको खोप कार्यक्रममा उल्लेख्य प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

फब्रुअरीमा अमेरिकाले यस खोपको भण्डारण र पारवहनको मापदण्डलाई सुधारेर माइनस १५ देखि माइनस २५ डिग्री सेल्सीअसमा फ्रिजमा दुई सातासम्म राख्न सकिने व्यवस्था भएको बताएको थियो ।

सुरुमा त्यसलाई माइनस ८० देखि माइनस ६० डिग्री सेल्सीअसमा भण्डारण गर्नुपर्ने आवश्यक ठानिएको थियो । यसै महिनाको सुरुमा क्यानडाले फाइजर खोप १२ देखि १५ वर्षबीचका बालबालिकासमेतलाई प्रयोग गर्न स्वीकृति दिएको छ ।

प्रतिक्रिया