भारतमा कोरोना सङ्क्रमित : ‘टू–डीजी’ नामक औषधिले पायो प्रयोगको अनुमति
अखबार टुडे
प्रकाशित:
२०७८, ४ जेष्ठ

नयाँ दिल्ली, ४ जेष्ठ । भारतमा औषधिसँग सम्बन्धित विषय हेर्ने सरकारी निकायले ‘टू–डीजी’ नामक औषधिलाई कोरोना सङ्क्रमितको उपचारमा प्रयोगका लागि आपत्कालीन अनुमति दिएको छ ।
कोरोना भाइरस सङ्क्रमित बिरामीको उपचारमा प्रयोग गर्ने उद्देश्यले भारतमा विकास गरिएको नयाँ औषधि ‘टू–डीजी’ ले अनुमति पाएको हो । कोभिडबाट अति प्रभावित दिल्लीका अस्पतालहरूमा यो औषधि पहिलो पटक प्रयोग गरिनेछ ।
औषधि कोभिडबाट ‘पीडित भएकाहरूका लागि अत्यन्तै लाभदायक’ रहेको भारत सरकारले दाबी गरेको छ । तर केही आलोचकहरूले कोभिड उपचारका लागि औषधिलाई आपत्कालीन स्वीकृति दिँदा आवश्यक पर्ने तथ्याङ्क उपलब्ध नभएको बताएका छन् ।
टू–डीअक्सी–डी–ग्लुकोज वा टू–डीजी औषधि डिफेन्स रिसर्च डेभलपमेन्ट अर्गनाइजेशन (डीआरडीओ)ले डक्टर रेड्डीज नामक औषधि उत्पादकसँगको सहकार्यमा विकास गरेको हो ।
भारतमा कोभिड–१९ सङ्क्रमणका कारण मृत्युदरमा अपेक्षा गरिएअनुसार कमी नआएपछि यसलाई उपचारका क्रममा प्रयोग गर्न अनुमति प्रदान गरिएको हो ।
तर, स्वास्थ्यविज्ञहरूले मानिसहरूमा गरिएको परीक्षणमा औषधिको प्रभावबारे प्रकाशित तथ्याङ्कको कमीले यसको प्रभावकारिताबारे प्रश्न उत्पन्न भएको बताएका छन् ।

प्रतिक्रिया