प्रदेश १ : निषेधाज्ञा कडा बनाइएपछि सुनसान बन्यो धरान
अखबार टुडे
प्रकाशित:
२०७८, १ जेष्ठ

धरान, १ जेठ । कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको दोस्रो लहर तीव्ररुपमा फैलिन थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएसँगै प्रदेश १ को उपमहानगरपालिका धरान सुनसान बनेको छ । जहाँ अहिले अत्यावश्यक र औषधिका पसलबाहेक सबै बन्द छन् ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा जेठ १५ गतेसम्म निषेधाज्ञा गरेको छ । यो अवधिमा खाद्यान्न, तरकारी, फलफूल, डेरी तथा मासुजन्य पसलहरुसमेत पूर्णरुपमा बन्द गरिने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

यसअघिको निषेधाज्ञा केही खुकुलो बनाएकोमा सर्वसाधारणको भीडभाडले जिल्लामा कोरोना संक्रमितको वृद्धि र मृत्यु दर अत्यधिक बढेकाले अबको निषेधाज्ञालाई झन् कडा गरिएको प्रशासन कार्यालयले जनाएको छ । यसअघि वैशाख २२ गते मध्येराति लागू हुने गरी वैशाख ३१ गतेसम्म पूर्ण निषेधाज्ञा गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार औषधि र स्वास्थ्य सामग्री तथा इनधन व्यवसाय सम्बन्धी पेट्रोल पम्प र एलपी ग्याास मात्र खोल्न पाइनेछ । औषधि खरिद र उपचारको लागि बाहेक घरबाट बाहिर निस्कन बन्द गरिएको छ ।
पछिल्लो केही दिनयता धरानलगायतका पूर्वी सहरहरुमा समेत संक्रमण बढिरहेको छ ।

प्रतिक्रिया