इजरायली हवाई आक्रमणबाट शनिबार १० जना प्यालेस्टिनीको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, १ जेष्ठ

जेरुसेलम, १ जेष्ठ (एजेन्सी) । इजरायलले शनिबार बिहानै प्यालेस्टिनीको बसोबास रहेको गाजामा गरेको हवाई आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ । मारिएकाहरुमा अधिकांश बालबालिका छन् ।

गाजामा सक्रिय हमासका लडाकूलाई लक्षित गरी इजरायलले यसै साताको शुरुदेखि हवाई तथा स्थल आक्रमण जारी राखेको छ । गाजामा इजरायल र हमास लडाकू बीचको युद्ध रोक्न र युद्धबिराम गराउन प्रयास जारी छन् ।

पछिल्लो पटकको हिंसा जेरुसेलमबाट शुरु भएको थियो र यो अहिले गाजा क्षेत्रका साथै इजरायली भूमिमा बसोबास गर्ने अरब समुदायसम्म फैलिएको छ । अरब र यहुदी समुदायबीच पनि इजरायलभित्रै हिंसात्मक झडपहरु जारी छन् ।

शुक्रबार इजरायल अधिनस्थ पश्चिमी किनारामा पनि प्यालेस्टिनी समुदायले इजरायल विरोधी प्रदर्शन गरेका थिए । त्यहाँ पनि इजरायली सेनाले गरेको कारबाहीमा ११ जना सर्वसाधारणको गोली लागेर मृत्यु भएको थियो । हिंसात्मक कारबाही तिब्र भएसँगै विद्रोह हुने सम्भावना बढाएको छ ।

तनाव मत्थर पार्ने प्रयासस्वरुप अमेरिकी कुटनीतिज्ञ हाडी अम्र ह्वाइट हाउसको प्रतिनिधित्व गर्दै शुक्रबार नै इजरायल आइपगेको छ । इजरायल–प्यालेस्टिनका विषयमा छलफल गर्न राष्ट्रसंघीय सुरक्षा परिषदको बैठक आइतबार बस्दैछ ।

यसैबीच, इजिप्टको एक वर्षसम्म शान्ति कायम राख्ने प्रस्तावलाई हमासले स्वीकार गरे पनि इजरायलले अस्वीकार गरेको छ ।

सोमबार रातिदेखि यता हमासले इजरायली भूमितर्फ सयौं क्षेप्यास्त्र प्रहार गरेको छ । बदलामा इजरायलले गाजापट्टीमा गरेको भिषण सैन्य कारबाहीमा कम्तीमा १२६ जनाको मृत्यु भइसकेको छ जसमा ३१ जना बालबालिका र २० जना महिला रहेका छन् ।
उता इजरायलतर्फ भने ६ वर्षीय एक बालक र एक सैनिक गरी सात जनाको ज्यान गएको छ ।

प्रतिक्रिया