अष्ट्रेलियामा पीआरको सुविधामा कटौती
अखबार टुडे
प्रकाशित:
२०७८, १ जेष्ठ

सिडनी, १ जेष्ठ। अष्ट्रेलियामा रहेका आप्रवासीलाई सरकारले पिआर सुविधामा कटौती गर्ने भएको छ ।
अर्थमन्त्री जोस फ्राइडेनबर्गद्वारा मंगलबार सार्वजनिक गरिएको सरकारको पछिल्लो बजेट नीति अन्तर्गत नयाँ आप्रवासीले प्रायः सरकारी कल्याणकारी सहयोग पाउन अब चार वर्ष पर्खनुपर्ने भएको छ ।
यसअघि यस्ता सहयोग र भुक्तानी पीआर प्राप्त गरेको मितिदेखिनै प्राप्त हुन्थ्यो । यो नीति सन् २०२२ को जनवरी १ देखि पीआर प्राप्त गर्ने मानिसहरूमा लागू हुनेछ ।
आर्थिक वर्ष २०२१–२०२२ को सरकारी नीति तथा कार्यक्रममा मानिसको आय अनुसार बालबच्चा हुर्काउन प्रदान गरिने आर्थिक भुक्तानीदेखि अभिभावक बिदालगायतका भत्ताका लागि पनि नयाँ आप्रवासीहरूले अब थप समय पर्खनुपर्ने भएको हो ।
यो सँगै आपतकालिन सहयोगका रूपमा रहेको जब सिकर, शैक्षिक भत्ता र युवा भत्ता पाउन पनि चार वर्ष पर्खनुपर्ने भएको छ ।
यसरी नयाँ आप्रवासीहमाथिको उक्त सहयोग कटौती रकमबाट सरकारले पाँच वर्षको अवधिमा ६७१ मिलियन डलर बचत गर्ने अर्थमन्त्री फ्राइडेनबर्गले बताएका छन् । तर यस कदमको विपक्षी दललगायतका केही संस्थाले विरोध जनाएका छन् ।
लिबरल सरकारका अर्थमन्त्रीले यस कार्यबाट राज्यलाई ठूलो रकम बचत हुने भएकाले यो कदम उठाइएको बताए ।

प्रतिक्रिया