अमेरिकामा बेरोजगार भत्ता दाबी गर्नेको संख्या ४ लाख ७३ हजार
अखबार टुडे
प्रकाशित:
२०७८, ३१ बैशाख

वासिङ्टन, ३१ बैशाख (एजेन्सी) । संयुक्तराज्य अमेरिकामा रोजगारी गुमाएकाहरुको संख्या निरन्तर ओरालो लागेको छ ।
कोरोनाभाइरस महामारीका कारण गत वर्षको शुरुमा ठूलो सङ्कट व्यहोरेको अमेरिकी श्रम बजारमा व्यापक सुधार आएको श्रम विभागले बिहीबार जनाएको छ ।
पछिल्लो विवरणमा चार लाख ७३ हजार व्यक्तिले मात्र हाल रोजगारी गुमाएको विभागको सर्भेले देखाएको छ ।
श्रम तथ्याँक ब्युरोले बिहीबार सार्वजनिक गरेको साप्ताहिक प्रतिवेदनमा बेरोजगारी भत्ताका लागि आवेदन गर्नेहरुको संख्यामा ३४ हजारले कमी आएको उल्लेख छ ।
अघिल्लो साता करिब पाँच लाख ७ हजार व्यक्तिले बेरोजगारी भत्ताका लागि आवेदन गरेकामा पछिल्लो साता चार लाख ७३ हजारले मात्र आवेदन दिएका छन् ।
यो गत वर्ष सन् २०२० को मार्च १४ मा बेरोजगारी दाबी गरेयता सबैभन्दा कम हो । त्यसबखत कूल दुई लाख ५६ हजारले बेरोजगारी भत्ताका लागि दाबी गरेका थिए ।
यसैबीच, राज्य र संघीय दुबैतर्फका कार्यक्रमबाट सुविधा दाबी गर्ने व्यक्तिको कूल संख्या छ लाख ९६ हजारले कमी आएर एक करोड ६८ लाख ५५ हजार रहेको पाइएको छ ।
रिपब्लीकन शासित धेरैवटा राज्यले संघीय बेरोजगार कार्यक्रमलाई जुन भित्रै अन्त्य गर्ने घोषणा गरेका छन् । यो कार्यक्रम आगामी सेप्टेम्बरभित्र समाप्त हुँदैछ ।
संघीय सहायता कार्यक्रममा राज्यबाट प्रदान गरिने सुविधाका अतिरिक्त साप्ताहिक ३०० अमेरिकी डलरको बेरोजगार भत्ताको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया