‘बलिदानीपूर्ण संघर्षबाट प्राप्त जनताका अधिकारमाथि प्रहार भइरहेको छ’
अखबार टुडे
प्रकाशित:
२०७८, ३१ बैशाख

काठमाडौं, ३१ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त हक र अधिकारमाथि प्रतिक्रियावादीबाट प्रहार भइरहेको बताएका छन् । शुक्रबार मुस्लिम समुदायको पर्व इद–उल–फित्रको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष प्रचण्डले परिवर्तन विरोधी प्रतिगामी शक्तिका विरुद्ध एकताबद्ध र सचेत संघर्षमा उत्रिन आह्वान गर्दै नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएकाले विश्वमा भिन्नै मौलिक पहिचान रहेको बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘मुस्लिम समुदायको महान् चाड इद–उल–फित्रको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएकाले विश्वमा यसको भिन्नै मौलिक पहिचान रहेको छ ।’
उनले मौलिक पहिचानका कारण नेपाली जनसमुदायका बीचमा सदियौंदेखि सहिष्णुता र राष्ट्रिय एकताको भावना जागृत भएको बताउँदै बहुधर्म र बहुसँस्कृतिले नै हाम्रो समाजलाई पारस्परिक सम्मान सहित अघि बढ्न अभिप्रेरित गरिरहेको बताए ।
‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको वर्तमान संविधानले नेपाली बहुसंस्कृतिको सम्मान गर्दै पहिचान र आत्मनिर्णयको अधिकार सुनिश्चित गरेको छ’ उनको भनाइ छ ।

प्रतिक्रिया