इजरायल-प्यालेस्टाइन द्वन्द्व : गाजासँगको सीमामा इजरेलद्वारा थप फौज परिचालन
अखबार टुडे
प्रकाशित:
२०७८, ३१ बैशाख

जेरुसेलम, ३१ बैशाख । प्यालेस्टाइनसँगको संघर्ष थप तनावपूर्ण बन्दै जाँदा इजरायलले गाजास्थित सीमा क्षेत्रमा ठूलो संख्यामा सैन्य बल तैनाथ गरेको छ ।
सोमबारदेखि जारी संघर्षमा दुवै पक्षबाट हवाई आक्रमण भइरहेका बेला सीमामा इजरायलले सेना तैनाथ गरेको हो ।
इजरायलले अब जमिनबाट पनि प्यालेस्टिनी विद्रोही संगठन हमासमाथि कारबाही गर्ने योजना बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सीमामा इजरायली सेनाले बख्तरबन्ध गाडी र ठूलो मात्रामा हतियारहरु ल्याएको छ । सेनाले कम्तीमा पनि ७ हजार रिजर्भ सैनिकलाई सीमामा बोलाएको बताइएको छ ।
बीबीसीका अनुसार सोमबार रातिदेखि सुरु भएको दोहोरो आक्रमणमा परी १ सयभन्दा बढीको मृत्यु भएको छ । प्यालेस्टाइनतर्फ २७ जना बालबालिकासहित १ सयभन्दा बढी र ७ जना इजरायली आक्रमणमा मारिएका छन् ।
यसैबीच प्यालेस्टाइनसँगको संघर्ष थप तनावपूर्ण बन्दै जाँदा इजरायलकै विभिन्न ठाउँमा यहुदी र अरब समुदायबीच झडप भइरहेको बताइएको छ । केही यहुदीहरूले अरबी समुदायका सवारी साधनमाथि आक्रमण गरेका घटनाहरू बाहिरिएका छन् ।

पछिल्ला केही दिनदेखि जेरुसेलममा हिंसा भड्किइरहेको थियो । जेरुसेलमस्थित अल अक्सा मस्जिदमा जान प्रतिबन्ध लगाइएपछि प्यालेस्टाइनका नागरिक क्रुद्ध भएका थिए ।
यो मस्जिदलाई इस्लाममा तेस्रो पवित्र स्थान मानिन्छ । यो यहुदीहरुको पनि पवित्र धार्मिक स्थलमा रुपमा रहेको छ ।
प्यालेस्टाइन रेड क्रेसेन्ट सोसाइटीका अनुसार इजरायली प्रहरीसँगको झडपमा ३ सयभन्दा बढी घाइते भएका थिए । सोमबार ‘जेरुसेलम दिवस’ मनाइरहँदा हिंसा भड्किएको हो ।
सन् १९६७ को अरब–इजरायल युद्धपछि पूर्वी जेरुसेलममाथि कब्जा गरिएको सम्झनामा सोमबार जेरुसेलम दिवस मनाइएको थियो ।
हमासले अल अक्सा र शेख जराह मस्जिदबाट प्रहरी हटाउन पहिलेदेखि नै इजरायलसँग आग्रह गर्दै आएको थियो । उसले दिएको समयसीमा सकिएपछि रकेट प्रहार गरेको बताएको छ ।

सन् १९६७ को मध्यपूर्वको युद्धपछि इजरायलले पूर्वी जेरुसेलममाथि कब्जा गरेको थियो । त्यसपछि उसले पूरा जेरुसेलमलाई आफ्नो राजधानी दाबी गर्दै आएको छ ।
तर अन्तर्राष्ट्रिय समुदायले यसलाई मान्दैन । प्यालेस्टाइनले भने पूर्वी जेरुसेलमलाई भविष्यको एक सार्वभौम र स्वतन्त्र मुलुकको राजधानीका रुपमा लिँदै आएको छ ।
यही विषयमा प्यालेस्टाइन र इजरायलबीच विवाद रहँदै आएको छ भने पटक–पटक यसले युद्धको रुप लिएको छ । सन् २०१४ को जुलाईदेखि अगस्टको बीचमा भएको द्वन्द्वमा २२५१ प्यालेस्टाइनी मारिएका थिए ।
तीमध्ये १४६२ त सर्वसाधारण नै थिए । त्यस्तै इजरायलका ६ सर्वसाधारणसहित ६७ जना सैनिक मारिएका थिए ।

प्रतिक्रिया