आजै पुनः प्रधानमन्त्रीमा नियुक्त हुँदै केपी ओली
अखबार टुडे
प्रकाशित:
२०७८, ३० बैशाख

काठमाडौं, ३० बैखाख । विपक्षी दलहरुले बहुमतको सरकार गठनका लागि माग दाबी नगर्ने भएका छन् । नेपाली काँग्रेस माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षले बहुमत जुटाउन नसकेपछि सरकारका लागि दाबी पेस नगर्ने निष्कर्ष निकालेको छ । यससँगै केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुने पक्का भएको छ ।
प्रतिनिधिसभामा २७ बैशाखमा विश्वास गुमाएका केपी शर्मा ओली आजै राति पुनः प्रधानमन्त्री नियुक्त हुने पक्का भएको हो । काँग्रेस– माओवादी केन्द्र र जसपा गठबन्धनले तोकिएको समयमा बहुमत जुटाउने सम्भावना टरेसँगै आज राति ९ बजेपछि केपी ओली नै प्रधानमन्त्री बन्ने भएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई नयाँ सरकार गठनका लागि आज राति ९ बजेसम्मको समय दिएकी थिइन् । यो समयसीमा सकिन एकाध घण्टामात्र बाँकी छ । तीन दिनको यो अवधिमा शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्र यादवले भगीरथ प्रयास गर्दा पनि बहुमत प्रमाणित गर्न सकेनन् । अन्ततः उनीहरु प्रधानमन्त्रीको दाबी गर्न नजाने निष्कर्षमा पुगेका छन् ।
माधव नेपाल समूहले सामुहिक राजीनामा नगरेको र जसपाको महन्थ ठाकुर पक्षका सांसदहरुलाई भक्तपुरको रिसोर्टमा राखिएपछि देउवाको पक्षमा बहुमत नजुटेको हो ।
विपक्षीले बहुमत जुटाउन नसकेपछि राष्ट्रपतिले अब संविधानको धारा ७६ (३) अनुसार केपी ओलीलाई प्रधानमन्त्री बनाउने बाटो खुलेको छ । दुई वा दुईभन्दा बढी दलहरुले बहुमत सिद्ध गर्न नसके ठूलो दलको नेतालाई प्रधानमन्त्री बनाइने संविधानको धारा ७६ (३) मा प्रावधान छ ।
काँग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार बहुमतको सरकारका लागि दाबी नगर्ने भएको छ । देउवाले पार्टी पदाधिकारी बैठक राखेर बहुमत जुट्न नसकेको बारे बिफ्रिङ गरेका थिए । माओवादी केन्द्र स्थायी समिति बैठकले पनि सरकार बहुमतको सरकार गठनको सम्भावना सकिएको निष्कर्ष निकालेको थियो ।

प्रतिक्रिया