दलहरु अन्यौलमा, पुनः ओली नै प्रधानमन्त्री
अखबार टुडे
प्रकाशित:
२०७८, ३० बैशाख

काठमाडौं, ३० बैशाख । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपालगायतका दलभित्रै खिचातानी अन्यौलका कारण नयाँ सरकार गठन असम्भव जस्तै देखिएको छ ।

राष्ट्रपतिले नयाँ गठबन्धन सरकार गठन गर्न आह्वान गरेको समय बित्न अब केही घण्टामात्र बाँकी छ । तर, अझै दलहरु सरकार गठनमा अन्यौलमै छन् ।

माओवादी केन्द्रले झलनाथ खनाल र माधवकुमार नेपालको औपचारिक निर्णयपछि मात्रै नयाँ सरकार गठन प्रक्रियाबारे निर्णय गर्ने जनाएको छ । बिहीबार आकस्मिक रुपमा बसेको पार्टीको स्थायी समिति बैठक बीचमै निस्केर नेता नारायणकाजी श्रेष्ठले खनाल नेपाल समूहको निर्णयपछि मात्रै सरकार गठनबारे औपचारिक धारण सार्वजनिक गर्ने बताए । यसको मतलव माओवादीभित्रै पनि नयाँ सरकार गठन गर्ने सन्दर्भमा अन्योल कायम छ ।

‘नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षको निर्णय पर्खेर र बसेका छौँ । उहाँहरुले के निर्णय दिनुहुन्छ स्पष्ट भएपछि मात्रै नयाँ सरकार गठनको प्रक्रियामा जाने कि नजाने को विषयमा औपचारिक निर्णय गर्छौ’ नेता श्रेष्ठको भनाई छ । तर, नेकपा एमालेको माधव नेपाल पक्षले तत्काल राजीनामा नदिने स्पष्ट देखिएको छ ।

यसअघि नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनको दावी गर्दै पत्र पेस गर्ने भनिएपनि अझै सम्भव देखिएको छैन । त्यसैले गण्डकीमा जस्तै केन्द्रमा पनि पुनः केपी शर्मा ओली नै प्रधानमन्त्री नियुक्त हुने सम्भावना बढेको छ । गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चा नेपालका कारण नयाँ सरकार गठनमा अवरोध भएपछि पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्री नियुक्त भएका छन् ।

यस्तै, केन्द्रमा पनि दलहरुले अबको केही घण्टामा सहमति नजुटाएमा केपी ओली नै पुनः प्रधानमन्त्री नियुक्त हुने छन् । आज दिनभरीको रिपोर्टहरुले ओली पुनः प्रधानमन्त्री हुने सम्भावना प्रबल बन्दै गएको छ ।

प्रतिक्रिया