उइगुर समुदायप्रति चीनको दमन : ६ सय बढी धर्मगुरुलाई बन्दी बनाएको खुलासा
अखबार टुडे
प्रकाशित:
२०७८, ३० बैशाख

शिन्जियाङ, ३० बैशाख (एजेन्सी) । चीनले उइगुर समुदायमाथि दमन गर्ने क्रममा कम्तीमा ६ सय ३० जना मुस्लिम धर्मगुरुहरुलाई बन्दी बनाएको पाइएको छ ।
उइगुर मानव अधिकार परियोजनाले संकलन गरेको तथ्याँक अनुसार २०१४ पछि शुरु भएको दमनमा चीनले ती अगुवाहरुलाई बन्दी बनाएको हो । १८ जना धर्मगुरुहरुको हिरासतमै ज्यान गएको पाइएको बीबीसीले जनाएको छ ।
पक्राउ पर्नेहरुलाई चरमपन्थी प्रचार गरेको, सामाजिक व्यवस्था भङ्ग गर्न भीड जम्मा गरेको, उक्साउने काम गरेको जस्ता आरोपहरु लागेको छ । सन् २०१४ पछि कम्तीमा एक हजार ४६ जना धर्मगुरुहरु पक्राउ परेकामा चर्को दबाबपछि केहीलाई रिहा गरेको छ ।
चीनको पश्चिमी क्षेत्रमा पर्ने शिन्जियाङका उइगर मुस्लिमहरूप्रति अपनाएको नीतिलाई लिएर चीनले विश्वभरिबाट बढ्दो आलोचना खेपिरहेको छ ।
चीनले पछिल्ला केही वर्षभित्र १० लाखभन्दा बढी उइगर मुस्लिमलाई कैद गरेको मानव अधिकारवादी समूहहरूको भनाई छ ।
चिनियाँ सरकारले उनीहरूलाई पुनः शिक्षा शिविरहरूमा राख्ने गरिएको बताउने गरेको छ । उइगरहरूलाई बलपूर्वक श्रम गर्न लगाइएको र बलपूर्वक महिलाहरूको बन्ध्याकरण गर्ने गरिएको प्रमाण भेटिएको बीबीसीले जनाएको छ ।
चीनको उत्तर–पश्चिमी शिन्जियाङ क्षेत्रमा बस्ने उइगरहरूको जनसङ्ख्या झन्डै एक करोड २० लाख छ । चीनमा शिन्जियाङ क्षेत्रलाई औपचारिक रूपमा शिन्जियाङ उइगर स्वायत्त क्षेत्र भनेर चिनिन्छ ।

प्रतिक्रिया