इजरायल र प्यालेस्टाइनबीचको संघर्ष युद्धतर्फ धकेलिंदै
अखबार टुडे
प्रकाशित:
२०७८, ३० बैशाख

जेरुसेलम, ३० बैशाख (एजेन्सी) । पछिल्ला दुई दिनयता इजरायल र प्यालेस्टाइनबीच संघर्ष थप तनावपूर्ण बन्दै गएको छ ।

गाजामा रहेका विद्रोही समूह हमास र इस्लामिक जिहादले इजरायली शहर तेल अभिभको आसपासमा निशाना बनाएर अहिलेसम्म १ हजार बढी रकेट प्रहार गरिसकेका छन् ।

इजरायलले जवाफमा गरेको हवाइ आक्रमणबाट गाजामा ४ जना वरिष्ठ कमाण्डरहरू मारिएको र तीन वटा ठूला भवन ध्वस्त भएका छन् । अहिलेसम्म इजरायली हमलामा परी गाजामा ६५ जना मानिसको मृत्यु भएको र त्यसमध्ये १६ जना बालबालिका रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायल र प्यालेस्टीनका विद्रोहीबीच गाजामा चर्किरहेको सङ्घर्षले अवस्थालाई पूर्ण युद्धतर्फ धकेलिरहेको अन्तर्राष्ट्रिय समूदायले चिन्ता व्यक्त गरेका छन् । विभिन्न मुलुकले दुबै पक्षलाई संयमता अपनाउन पनि आग्रह गरेका छन् ।

राष्ट्रपति जो बाइडनले नेता न्याहुलाई फोन गरेर इजरायलको सुरक्षाप्रति आफ्नो समर्थन रहेको भन्दै दिगो शान्ति पुनर्बहाली हुनपर्नेमा पनि जोड दिएको छ । तर उनले आफ्ना नागरिकको रक्षा गर्ने अधिकार इजरायलसँग रहेको बताएका छन् ।

दुई पक्षबीच युद्धविराम गराउन अमेरिकाले आफ्ना विशेष दूत पठाउन लागेको छ । इजरायलको सेनाले भने ‘पूर्ण शान्ति’ नभएसम्म युद्धविरामको सम्भावना नरहेको बताएको छ ।

रकेट हानाहान जारी रहँदा इजरायलमा यहुदी र अरबी समुदायबीच पनि हिंसाका घटनाहरू हुन थालेका छन् । केही यहुदीहरूले अरबी समुदायका सवारी साधनमाथि आक्रमण गरेका घटनाहरू बाहिरिएका छन् ।

गाजालाई नियन्त्रणमा लिएको विद्रोही समूह हमासले सोमबार साँझ ६ बजेसम्म अल अक्सा मस्जिद र शेख जराहबाट इजरायली सैनिक फिर्ता गर्न अल्टिमेटम दिएको थियो । उक्त अल्टिमेटम सकिएको केही मिनेटमै हमासले इजरायलमाथि रकेट हानेको हो । त्यसपछि सुरू भएको रकेट हानाहान अहिलेसम्म रोकिएको छैन ।

प्रतिक्रिया