यस्तो पनि दिन आयो : दुई बेहुला पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७८, २९ बैशाख

पर्वत, २९ बैशाख । जलजला गाउँपालिका–२ मा निषेधाज्ञाका समयमा बिहे भोज चलाएको आरोपमा प्रहरीले दुई जना बेहुला पक्राउ परेका छन् । कोरोनाको हटस्पट जलजला–२ माझफाँटमा बिहेको भोज गरेपछि उनीहरु बुधबार पक्राउ परेका हुन् ।

मंगलबार बिहे गरेका दुई जनाले बुधकार एकै ठाउँमा भीड गरेर भोज चलाएको सूचना पाएपछि प्रहरीले २३ वर्षीय प्रदीप परियार र २४ वर्षीय राजकुमार परियारलाई पक्राउ गरेको छ । उक्त गाउँमा कोरोनाका सक्रिय संक्रमित ७५ जना छन् ।

जिल्ला प्रशासन कार्यालयले बिहे तथा काजक्रियामा १० जना मात्रै सहभागी हुने आदेश जारी गरे पनि बिहेभोजमा ३०/४० गाउँले भेला भएको प्रहरीले जनाएको छ । प्रहरी पुगेपछि सहभागी भागाभाग भएका थिए ।

प्रहरीले सबै भागेपछि दुई बेहुलालाई समातेर आवश्यक कारवाहीपछि छाड्ने जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप पौडेलले स्वास्थ्य मापदण्ड पालना नगरी बिहेभोज गरेको पाइएपछि दुवै बेहुलालाई नियन्त्रणमा लिइएको बताए ।

प्रतिक्रिया